दार्चुला । सडक सञ्जालसँग नजोडिएको अपि हिमाल गाउँपालिकामा खाद्यान्नको चरम अभाव देखिएको छ ।
गत वर्षको खडेरीका कारण उत्पादन घटेसँगै यस वर्ष गाउँपालिकामा खाद्यान्न अभाव भएको हो । सात हजार जनसँख्या रहेको गाउँपालिकाका अधिकांश बस्ती भिरालो पाखोमा छ । ‘पाखो जमिनमा उत्पादन भएको अन्नले तीन महिना पनि खान पुग्दैन’, अपि हिमालका स्थानीय प्रेमसिंह कार्कीले भन्छन्, ‘उत्पादित अन्न सकिएको छ ।’
गाउँका अधिकांशले महँगो मूल्यमा खाद्यान्न किनेर खानुपर्ने अवस्था आएको छ । गत वर्ष यार्सागुम्बा पनि राम्रो नभएको र गाउँको उत्पादनले नपुगेपछि व्यापारीबाट महँगो मूल्यमा खाद्यान्न किन्नुपर्दा निकै समस्या भएको उनले बताए ।
खाद्य संस्थानले चालू आर्थिक वर्षमा खाद्यान्नको कोटा घटाएर पठाउँदा समस्या भएको हो । ‘गत वर्षसम्म दुई हजार पाँच सयदेखि तीन हजार क्विन्टलसम्म खाद्यान्न आउँथ्यो’, खाद्य संस्थान खण्डेश्वरीका नरभानसिंह ठेकरेले भने, ‘यस वर्ष एक हजार क्विन्टल मात्रै खाद्यान्न आएपछि समस्या भएको हो ।’
पहिले पठाएको एक हजार क्विन्टल खाद्यान्न सकिएको बताइएको छ । गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत पहल भएपछि थप पाँच सय क्विन्टल खाद्यान्न आउने आश्वासन प्राप्त भएको बताइएको छ । ‘खडेरीका कारण यस क्षेत्रमा भोकमरीको अवस्था सिर्जना हुने अवस्था सृजना भएको छ’, ठेकरेले भने ।
गाउँपालिकाले अपि हिमालका लागि चालू वर्षमा थप पाँच हजार क्विन्टल खाद्यान्न कोटा थप्न आग्रह गरे पनि अहिलेसम्म सुनुवाइ नभएको गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताए । उनले भने, ‘हामीले दुई महिनाअघि नै थप पाँच हजार क्विन्टल खाद्यान्न थप गर्न आग्रह गरेका छौँ । तर, अहिलेसम्म खाद्य संस्थानको केन्द्रीय कार्यालयबाट जानकारी आएको छैन । जनताले खान नपाउने अवस्था आइसकेको छ ।’
अहिले अपि हिमालको वडा नम्बर ५ मकरीगाडसम्म मात्रै सडकको ट्र्याक खुलेको छ । त्योभन्दा माथिल्लो क्षेत्रका चारवटा वडामा सडक पुगेको छैन । सडक नहुँदा त्यस क्षेत्रमा ढुवानी भाडा पनि महँगो छ । यो क्षेत्रमा व्यापारिक चामल निकै महँगो हुने गरेको छ ।