काठमाडौं । पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक भएको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमकाबीच राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयककी जनसंख्या सचिव देवकुमारी गुरागाईंले सन् २०३० सम्ममा नेपालबाट एचआईभी निर्मुल पार्नका लागि उक्त रणनीतिक योजना सार्वजनिक गरिएको बताईन् । उनले अघिल्ला योजनाहरु जस्तै यो बन्नका लागि मात्रै नभई कार्यान्वयनका लागि हुने बताईन् ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जय ठाकुरले ७६ प्रतिशत एचआईभी असुरक्षित यौन सम्पर्क र सुईद्वारा लागुपदार्थ प्रयोगकर्ताको माध्यमबाट सरेको बताए । “सरकारी स्तरबाट नै एचआइभी विरुद्ध विभिन्न चेतनामुलक कार्यक्रमका साथै निःशुल्क औषधी वितरण भईरहेको छ ।
तर समाजको डर र संकोचका कारण संक्रमितहरु एआरभी सेवा लिन आउँदैनन्, उनीहरुमा चेतना नहुँदा पहुँचमा पु¥याउन समस्या भईरहेको छ,” उनले भने । नेपालमा एचआइभीको उच्च जोखिममा सुईद्वारा लागु पदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी र पुरुष समलिंगी तथा तेस्रोलिंगीहरू रहेका छन् । बैदशिक रोजगारीमा गएका र जेलमा रहेका कैदीहरू एचआईभीको जोखिममा रहेको केन्द्रको तथ्यांकले देखाएको छ ।
नेपालमा बर्सेनि दुई हजारभन्दा बढी नयाँ एचआइभी संक्रमित थपिइरहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा दुई लाख ४२ हजार ६८९ जनाको एचआइभी परीक्षण गराउँदा दुई हजार ५७९ मा संक्रमण देखिएको छ । यस्तै २०७६/०७७ मा नयाँ संक्रमित दुई हजार ४१६, २०७५/०७६ मा दुई हजार २९८, २०७४र०७५ मा दुई हजार १३, २०७३/०७४ दुई हजार १११ र २०७२/०७३ तीन हजार ६७१ नयाँ संक्रमित फेला परेका थिए । थपिएकामध्ये धेरैजसो बागमती प्रदेशका नै रहने गरेको पाइएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार आव २०७७/०७८ को तथ्याङ्कमा बागमतीमा अन्य प्रदेशभन्दा एचआइभी संक्रमित बढी छन् । केन्द्रका तथ्याङ्क अधिकृत वीरवहादुर रावलले सो वर्ष बागमतीमा एक हजार २११ नयाँ संक्रमित फेला परेको जानकारी दिए । सोही आवमा प्रदेश नं १ मा २२२, मधेशमा ५६५, गण्डकीमा २२२, लुम्बिनीमा ५११, कर्णालीमा ३२ र सुदूरपश्चिम प्रदेशमा २२४ नयाँ संक्रमित फेला परेका थिए।