डा.सिलु श्रेष्ठ ह्यान्ड सर्जन ब्लु क्रस अस्पताल म विगत ४ वर्षदेखि ब्लु क्रस अस्पतालमा अर्थाेपेडिक ह्यान्ड सर्जनको रुपमा कार्यरत्त छु । मेरो डेलिभरी भएको भर्खरै चार महिना बितेको छ । त्यो अवधिमा मैले गरेको अनुभवबारे केही बताउन चाहन्छु । विश्वमा करिब ५० प्रतिशत जनसंख्या महिलाको छ । तीमध्ये करिब ९० प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा बच्चा जन्माउने र आमा हुने अवसर प्राप्त गर्छन् । यद्यपि कामकाजी महिलाहरुले कार्यस्थलमा आफ्नो गर्भावस्थाको समय होस् या बच्चा जन्मिसकेको समय त्यतिबेला धेरै नै असहज स्थितीहरुको सामना गर्नुपर्ने हुन्छ ।
तर ब्लु क्रस अस्पतालमा भने मैलै गर्भावस्थामा पनि एक परिवारको सदस्यको जस्तो माया ममता पाए भने बच्चा जन्मिसकेपछि पनि मैले आफ्नो बच्चालाई अस्पतालमा नै ल्याएर स्तनपान गराउन पाए । जुन मेरो लागि एकदमै खुसीको कुरा हो । अस्पतालका कर्मचारी तथा व्यवस्थापन पक्षको माया ममताका कारण नै मैलै गर्भावस्थाको अन्तिम समयसम्म पनि सर्जरी गरिरहें ।
ब्लु क्रस अस्पतालकै गाइनोलोजिष्ट डा.हेमा प्रधानले शल्यक्रियाबाट मलाई डेलिभरी गराउनुभयो । पेशाले सर्जनले भएपनि बिरामी तथा एउटी आमाका रुपमा मैलै पनि डेलिभरीका क्रममा विभिन्न प्रकारका पीडादायी समयहरुको अवश्य नै सामना गर्नुपर्यो । यस क्रममा डा.हेमाले म प्रति देखाउनु भएको कारुणिक व्यवहार तथा हेरचाहका लागि म सधैं उहाँप्रति आभारी छु र उहाँलाई धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु ।
विश्व स्वास्थ्य संगठनका अनुसार शिशु जन्मेको ६ महिनासम्म आमाको दूध मात्रै र २ वर्षसम्म बच्चालाई स्तनपान गराउनुपर्छ । कार्यालयहरुमा स्तनपान कक्ष पनि नहुनु तथा बच्चा जन्मिएपछि ६ महिनासम्म कामकाजी महिलाहरुलाई सुत्केरी बिदा नहुनुले कतिपय कामकाजी महिलाहरुले ६ महिनासम्म पनि आफ्ना बच्चालाई स्तनपान गराउने अवसर पाउँदैनन् ।
ब्लु क्रस अस्पतालमा भने मैलै मेरो बच्चालाई अस्पतालमा नै ल्याएर स्तनपान गराउन पाइरहेको छु जुन मेरो लागि एउटा सौभाग्य नै हो । आमाले दिएको दुई वर्षको समयले कुनै पनि बच्चाको जीवन निर्धारण गर्छ भने प्रत्येक सरकारी तथा निजी कार्यालयहरुमा कार्यरत्त महिलाहरुले मैले जस्तै कार्यालयमा बच्चा ल्याएर स्तनपान गराउन पाउनुपर्छ । त्यो आमा र बच्चा दुवैको अधिकार हो ।
कामकाजी महिलाहरुले आफ्नो बच्चालाई बोतलमा दूध चुसाउने गरेको पनि पाइन्छ । तर कुनै पनि आमाले उसको बच्चालाई स्तनपान नै गराउन चाहेकी छिन् भने त्यो पाउनु उनको अधिकार पनि हो । फेरि पनि ब्लु क्रस अस्पतालले मेरो र मेरो बच्चाको त्यो अधिकारको सुनिश्चिता गरिदिएकोमा म फेरि पनि धन्यवाद भन्न चाहन्छु ।