एजेन्सी । कोरोना भाइरसको नयाँ भेरिएन्ट डेल्टाक्रोनले विश्वभरका स्वास्थ्य विशेषज्ञहरूलाई चिन्तित बनाएको छ।
डेल्टाक्रोन, डेल्टा र ओमिक्रोन मिलेर बनेको हाइब्रिड स्ट्रेन हो, जुन गत महिना साइप्रसमा अनुसन्धानकर्ताहरूले पहिलोपटक पत्ता लगाएका थिए । त्यसबेला वैज्ञानिकहरूले यसलाई प्रयोगशालामा प्राविधिक गल्ती भएको ठाने तर अहिले बेलायतमा डेल्टाक्रोनबाट सङ्क्रमण रिपोर्ट गरिएको छ।
साइप्रस विश्वविद्यालयका अनुसन्धानकर्ताले जनवरीको पहिलो सातामा कोरोनाको नयाँ स्ट्रेन रिपोर्ट गरेका थिए । यसको नाम ‘डेल्टाक्रोन’ राखिएको थियो । त्यसबेला साइप्रसमा डेल्टाक्रोनका २५ वटा सङ्क्रमण रिपोर्ट गरिएको थियो । साइप्रसमा नयाँ स्ट्रेन भेटिएका २५ जनामध्ये ११ जनामा कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो । बाँकी १४ जनामा सङ्क्रमण देखिए पनि अस्पताल भर्ना भएनन्।
एक महिनाअघि, विश्वभरका वैज्ञानिकहरूले ओमिक्रोनले यति छिट्टै अर्को भेरिएन्टसँग जोडेर नयाँ भेरिएन्ट बनाउन नसक्ने बताएका थिए । लन्डनको इम्पेरियल कलेजका भाइरोलोजिस्ट टम पीककले डेल्टाक्रोन ल्याबमा भएको प्राविधिक गल्तीका कारण डेल्टाक्रोन देखिएको र यो नयाँ स्ट्रेन नभएको बताएका थिए ।
अनुसन्धानकर्ता र जैविक विज्ञानका प्रोफेसर लियोनडिवस कोस्त्रिकिसले डेल्टाक्रोन ल्याबमा त्रुटि भएको कारण देखिएको दाबीलाई खारेज गरेका छन् । बेलायतको युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार कोरोनाको डेल्टाक्रोनको बारेमा अनुसन्धान भइरहेको छ । यो भेरिएन्ट कति सङ्क्रामक छ र यसका लक्षणको बारेमा कुनै पनि जानकारी दिइएको छैन ।
अधिकांश मानिसहरूले खोप र बुस्टर डोजहरू प्राप्त गरिसकेका कारण डेल्टाक्रोनले उच्च जोखिममा नपार्ने दैनिक भाष्करमा उल्लेख छ ।