एजेन्सी । विश्वका विभिन्न मुलुकमा भन्दा पछिल्लो २४ घण्टाभित्र जर्मनीमा कोरोना भाइरसका सङ्क्रमित धेरै थपिएका छन् ।
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको फैलावट सुरु भएपछि जर्मनीमा पनि दैनिक सङ्क्रमण ह्वात्तै बढेको हो । जर्मनीमा एकै दिन दुई लाख २७ हजार छ सय १३ जना नयाँ बिरामी थपिएका हुन् । सङ्क्रमित सङ्ख्या एक करोड ३१ लाख ५४ हजार पाँच सय ४१ पुगेको छ ।
९३ लाख २० हजार सात सय जना उपचारपछि निको भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टामा एक लाख ६७ हजार छ सय जना कोरोनामुक्त बने । जर्मनीमा हाल ३७ लाख १२ हजार तीन सय ९४ जना सक्रिय सङ्क्रमित छन् ।
उपचाररत सक्रिय सङ्क्रमितमध्ये दुई हजार चार सय ९४ जनाको अवस्था गम्भीर छ । एकै दिन दुई सय ४४ जनाको मृत्यु भएपछि जर्मनीमा हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या एक लाख २१ हजार चार सय ४७ पुगेको छ । जर्मनी कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै आठौं नम्बरमा रहेको मुलुक हो ।
जर्मनीपछि कोरोना सङ्क्रमित रसियामा धेरै थपिएका छन् । पछिल्लो २४ घण्टाभित्र रसियामा एक लाख ८० हजार छ सय २२ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ४८ लाख ४० हजार पाँच सय दुई पुगेको छ ।
एक करोड १८ लाख २८ हजार चार सय ७५ जना उपचारपछि निको भइसकेका छन् । एकै दिन एक लाख ८५ हजार ८२ जना कोरोनामुक्त बने । हाल रसियामा २६ लाख ६८ हजार आठ सय ५४ जना कोरोनाका सक्रिय बिरामी छन् ।
उपचाररत सक्रिय बिरामीमध्ये दुई हजार तीन सय जनाको अवस्था गम्भीर छ । एकै दिन सात सय ९० जनाको मृत्यु कोरोनाका कारण भएपछि हालसम्म रसियामा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या तीन लाख ४३ हजार एक सय ७३ पुगेको छ । रसिया कोरोनाका कारण विश्वमा प्रभावित हुनेमध्ये छैठौँ नम्बरमा रहेको मुलुक हो ।