एजेन्सी । महिलाहरूले गर्भवती हुनुअघि आफ्नो मुटुलाई पूर्णतया स्वस्थ बनाउनु पर्ने अध्ययनले देखाएको छ ।
अमेरिकी वैज्ञानिकहरूका अनुसार मुटु स्वस्थ नहुदा गर्भावस्थामा गम्भीर जटिलताहरू निम्तिन सक्छ। गर्भावस्थाको समयमा महिलाको सम्पूर्ण शरीर परिवर्तन हुन्छ। पहिलो त्रैमासिकमा शरीरमा रगतको मात्रा ३० देखि ४० प्रतिशतसम्म बढ्छ। जसका कारण मुटुको काम पनि बढ्छ र मुटुको धड्कन पनि बढ्न थाल्छ।
त्यसैले यस्तो अवस्थामा प्रजनन स्वास्थ्यका साथसाथै गर्भावस्थाको योजना बनाउनुअघि मुटुलाई स्वस्थ राख्न ध्यान दिनु जरुरी रहेको अनुसन्धान अमेरिकन हार्ट एसोसिएसन (एएचए) को मेडिकल जर्नल सर्कुलेसनमा प्रकाशित अध्ययनमा उल्लेख छ। गर्भवती भएका २० देखि ४४ वर्ष उमेर समूहका दुईमध्ये एक महिलाको मुटु स्वस्थ नभएको सन् २०१९ मा अमेरिकाको अध्ययनले देखाएको छ।
मधुमेह, उच्च रक्तचाप र मोटोपनाले मुटुरोगको जोखिमलाई बढाउँछ । अध्ययनमा सहभागी भएका ५० प्रतिशत महिलालाई यीमध्ये कुनै न कुनै एक रोग भएको पाइयो जसले उनीहरूको मुटुलाई जोखिममा पार्छ । गर्भावस्थाको समयमा मुटुरोग आमा र बच्चा दुवैका लागि जोखिमपूर्ण हुन्छ । यो रोग प्रत्येक चार गर्भवती महिला मध्ये एकको मृत्युको कारण बन्न सक्छ।
अनुसन्धानका प्रमुख वैज्ञानिक डाक्टर न्याटली क्यामरुनले स्वस्थ मुटु भएका महिलालाई गर्भावस्थामा हुने जटिलता कम हुने र बच्चा पनि स्वस्थ हुने बताउँछिन् । यसले महिलाहरूलाई भविष्यमा हुनसक्ने मुटुरोगको जोखिम पनि कम हुने उनको भनाइ छ। डा. क्यामरुनका अनुसार अधिकांश गर्भधारण योजना अनुसार हुँदैन । त्यसैले महिलाले आफ्नो मुटुको स्वास्थ्यमा सधैँ ध्यान दिनुपर्छ।
व्यायाम, राम्रो खानपान, तनावबाट टाढा रहने, चुरोट तथा रक्सीको सेवन नगर्दा मुटुरोगबाट बच्न सकिने छ।