काठमाडौं । सास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुन सक्छ।
खाएपछि कुल्ला नगर्दा , दाँत र मुखलाई राम्रोसँग सफा नगर्दा सास गन्हाउने समस्या उत्पन्न हुनसक्छ । तर, शरीरमा लागेको विभिन्न रोगका कारण पनि मानिसमा सास गन्हाउने समस्या हुनसक्छ। सास गन्हाउने समस्या निम्त्याउने विभिन्न रोगमध्ये एक हो फ्याटी लिभर अर्थात् कलेजोमा बोसो जम्ने समस्या।
कलेजोको कोशिकाहरूमा बोसो जम्मा हुँदा कलेजोले राम्रोसँग काम गर्न सक्दैन । अत्याधिक मात्रामा रक्सीको सेवन गर्ने मानिसमा फ्याटी लिभरको जोखिम बढी हुन्छ । रक्सीको सेवन नगर्ने मानिसको कलेजोमा पनि बोसो जम्न सक्छ । उच्च कोलेस्ट्रोल, मधुमेह, स्लिप एप्निया, निसक्रियता, थाइराइडका कारण फ्याटी लिभर हुनसक्छ।
यो रोगले विभिन्न व्यक्तिहरूलाई विभिन्न तरिकाले असर गर्न सक्छ । धेरैजसो अवस्थामा यो रोग सुरुमा पत्ता लाग्दैन । तर, श्वासप्रश्वासको समयमा सासबाट आउने गन्धबाट यो रोग समयमै थाहा पाउन सकिन्छ । सास गनाउने वा सासबाट दुर्गन्ध आउने फ्याटी लिभर रोगको लक्षण हुनसक्छ।
कलेजोमा बोसो जम्ने समस्याका कारण सास फेर्ने क्रममा आएको गन्ध कुनै चिज सडेपछि आएको दुर्गन्ध जस्तो हुन्छ । सामान्य कारण सास गनाएको समस्या र कलेजोमा बोसो जमेको कारण सास गनाएको समस्यालाई सजिलै छुट्याउन सकिन्छ । बिहान वा केही खाएपछि सास गन्हाउनु सामान्य हो तर फ्याटी लिभरको समस्याबाट पीडित व्यक्तिमा दिनभरि नै सास गनाइरहन्छ।
यो फ्याटी लिभर रोगको स्पष्ट सङ्केत हो र यसलाई सामान्य सोचेर बेवास्ता गर्नु हुँदैन । फ्याटी लिभरको समस्या हुँदा कलेजोले रगतलाई फिल्टर गर्न वा केमिकललाई डिटोक्सिफाइ गर्न सक्दैन । कलेजोले राम्ररी काम नगर्दा फिल्टर नभएका विषाक्त पदार्थ श्वासप्रश्वास प्रणालीलगायत शरीरका अन्य अङ्गहरूमा जान्छ । जसकारण सास गन्हाउने समस्या निम्तिन्छ।
सासको दुर्गन्धसँगै छाला पहेँलो हुने, सजिलै रगत बग्ने, पेट सुन्निने, खुट्टा सुन्निने फ्याटी लिभरका लक्षण हुन्।