काठमाडौं । दुखाइको समस्याबाट छुटकारा पाउन मानिसहरू पेनकिलर खाने गर्छन् वा पेन किलर खान सल्लाह दिइन्छ।
तर, धेरैले डाक्टरको सल्लाहबिना पेन किलरको सेवन गर्ने गरेको पनि पाइन्छ। डाक्टरको सल्लाहबिना जथाभावी पेनकिलरको सेवन स्वास्थ्यको लागि घातक हुन सक्छ । पेनकिलरको दैनिक प्रयोगले महिलामा कानको समस्या बढाउने ७० हजार महिलामा गरिएको अध्ययनले देखाएको छ।
अमेरिकाको बर्मिङ्घम र वुमेन्स हस्पिटलका अन्वेषकहरूले गरेको अध्ययनमा आफूखुसी पेनकिलर प्रयोग गर्ने महिलामा सामान्यभन्दा २० प्रतिशत बढी कानसँग सम्बन्धित टिनिटस नामक समस्या हुने सम्भावना रहेको पाइएको थियो। अध्ययनका प्रमुख लेखक डाक्टर शेरोन करहानका अनुसार अध्ययनले पेन किलर प्रयोग गर्ने मानिसहरूमा टिनिटसको जोखिम बढी हुने देखाएको छ।
जनरल इन्टरनल मेडिसिन जर्नलमा प्रकाशित अध्ययनका अनुसार हप्तामा ६ वा सात पटक एस्पिरिनको प्रयोग पनि टिनिटसको जोखिमलाई २० प्रतिशतले बढाउन सक्छ। तर, रुघाखोकी, ह्याङओभर, स्प्रेन वा दाँतको दुखाइमा प्यारासिटामोलजस्ता औषधि खान नमिल्ने दाबी अध्ययनमा गरिएको छैन।
यो अध्ययनले दैनिक वा बारम्बार दुखाइ कम गर्ने औषधिको प्रयोगलाई मात्र औँल्याएको छ। दुखाइ कम गर्ने औषधिहरूको सेवन रोकेमा यसले टिनिटसका लक्षणहरू कम हुन्छ कि हुँदैन भनेर जान्न महत्त्वपूर्ण हुने अनुसन्धानकर्ताहरू बताउँछन्।
कानमा घण्टी बजेको जस्तो सुन्नु वा विभिन्न किसिमका आवाज आउनुलाई टिनिटस भनिन्छ। यस्तो आवाज कानमा बारम्बार दोहोरिरहने वा बीचबीचमा हराउँदै आउन पनि सक्छ।