काठमाडौं । सरकारले सन् २०३० सम्म मुलुकबाट एचआईभी सङ्क्रमितको सङ्ख्या शून्यमा झार्नका लागि ‘पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना’ सार्वजनिक गरेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले एचआईभी निर्मुल पार्ने लक्ष्यसहित राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ सार्वजनिक गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अबको ८ वर्षमा नेपालबाट एचआईभी सङ्क्रमितको सङ्ख्यामा शून्यमा झार्ने उदेश्यका साथ काम गर्ने र त्यसलाई सहज बनाउनका लागि योजना सार्वजनिक गरेको बताएको छ ।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा ७६ प्रतिशत एचआईभी असुरक्षित यौन सम्पर्क र सुईद्वारा लागुपदार्थ प्रयोगकर्ताको माध्यमबाट सर्ने गरेको छ । नेपालमा एचआइभीको उच्च जोखिममा सुईद्वारा लागु पदार्थ प्रयोग गर्ने, यौनकर्मी र पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गीहरू रहेका छन् । वैदशिक रोजगारीमा गएका र जेलमा रहेका कैदी एचआईभीको जोखिममा रहेको केन्द्रले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी लोकराज पाण्डेले सरकारले सार्वजनिक गरेको पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजनामा एचआईभीसँग सम्बन्धित सम्पूर्ण सेवाहरू समावेशी, समतामूलक तथा पहुँचयोग्य बनाई सो को निरन्तरता कायम गर्ने रहेको बताए ।
उनले नयाँ एचआईभी सङ्क्रमण रोकथाम गर्ने, एचआईभी सङ्क्रमित व्यक्तिहरूको स्वास्थ्यसम्बन्धी परिणामहरूमा सुधार ल्याउने, एचआईभी सङ्क्रमित तथा मुख्य समूहहरूमा एचआईभीसँग सम्बन्धित विद्यमान असमानताहरूमा कमी ल्याउने लक्ष्यहरू रहेको पनि प्रष्ट पारे ।
यस्तै सन् २०२६ सम्म कुल अनुमानित एचआईभी सङ्क्रमितध्ये ९५% को पहिचान गर्ने, एचआईभी सङ्क्रमण पुष्टि भएका मध्ये ९५% व्यक्तिको उपचार गर्ने, उपचारमा रहेका एचआईभी सङ्क्रमितमध्ये ९५% को भाइरल लोड सुपरसेसन गर्ने, नयाँ एचआईभी सङ्क्रमणदर लाई ९०% ले कम गर्ने, आमाबाट बच्चामा हुने एचआईभीको सङ्क्रमणलाई निवारण गर्ने, कङ्गनीसियल सिफ्लिसको दर प्रतिलाख जीवित जन्ममा ५० वा सोभन्दा कम गर्ने लक्ष्य रहेको पनि उनले बताए ।