एजेन्सी । विश्वमा दैनिक थपिने भन्दा निको भएर सामान्य जीवनमा फर्किने कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या झन्डै दोब्बर रहेको छ।
यो अवस्था केही दिनयता कायम छ । कोरोना महामारी उत्कर्षमा पुगेका बेला विश्वमा दैनिक थपिने सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै हुने गरेको थियो । तर अहिले निको हुनेको सङ्ख्या धेरै हुँदा कोरोनाका कारण भयावह बनेको विश्वको अवस्था सामान्यतर्फ उन्मुख भइरहेको छ।
पछिल्लो २४ घण्टामा विश्वमा १२ लाख ४४ हजार तीन सय ७४ जना नयाँ बिरामी थपिए । निको हुनेको सङ्ख्या २३ लाख ५२ हजार तीन सय ७१ रहेको छ । विश्वमा हालसम्म ४२ करोड ६१ लाख २९ हजार तीन सय ६६ जनामा कोरोना यकिन भइसकेको छ।
सङ्क्रमितमध्ये ३५ करोड ३० लाख नौ हजार तीन सय ३२ जना उपचारपछि निको भइसकेका छन्। विश्वमा हाल छ करोड ७३ लाख ११ हजार दुई सय दुई जना सक्रिय सङ्क्रमितको उपचार जारी छ । उपचाररतमध्ये ८१ हजार चार सय ६३ जनाको अवस्था गम्भीर छ।
विश्वमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । पछिल्लो २४ घण्टामा छ हजार ९७ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ५९ लाख आठ हजार आठ सय ३२ पुगेको छ।
अमेरिकामा एकै दिन २५ हजार नौ सय २८ जना नयाँ बिरामी थपिए। एक लाख ११ हजार तीन सय चार जना उपचारपछि निको भएर घर फर्किएका छन् । अमेरिकामा हालसम्म आठ करोड एक लाख ४१ हजार सात सय ७३ जनामा कोरोना यकिन भइसकेको छ।
सङ्क्रमितमध्ये पाँच करोड १७ लाख ८६ हजार तीन सय ६८ जना निको भएर कोरोनामुक्त बनिसकेका छन्। अमेरिकामा हाल दुई करोड ७३ लाख ९५ हजार तीन सय १२ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ। उपचाररतमध्ये ११ हजार तीन सय ५५ जनाको अवस्था गम्भीर छ।
एकै दिन अमेरिकामा कोरोनाका कारण दुई सय ४२ जनाको मृत्यु भयो। हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या नौ लाख ६० हजार ९३ पुगेको छ । अमेरिका कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक हो।