काठमाडौं । नेपालमा सर्वसाधारणको ‘ज्यानै जाने’ गरी तरकारी आयात भइरहेको छ । सरकारले हचुवाको भरमा सामान्य प्रकारको दुई समूहको विषादीमात्रै परीक्षण गरेको आधारमा भारतसहित तेश्रो मुलुकबाट ‘अति खतरनाक’ मानिने विषादीयुक्त तरकारी खुलेआम आयात भइरहेको छ ।
सरकारले अर्गानोफस्फेट र कार्वामेट नामको दुई समूहको विषादीमात्रै परीक्षण गरी भारतलगायत तेश्रो मुलुकबाट तरकारी आयात गर्न अनुमति दिएको छ । यही दुई समूहको विषादीको परीक्षण गरेर आयात गरिएका तरकारी प्रत्येक नेपालीको भान्छामा दैनिक रुपमा पाक्ने र उपभोग हुँदै आएको छ।
यी दुई समूहको विषादीको परीक्षण फोटो स्पेक्टोमिटरसहितको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला (आरबीपीआर) मार्फत हुने गरेको छ । यो प्रयोगशालाको सहयोगमा तरकारी तथा फलफूल ‘खान लायक छ वा छैंन’, ‘केही दिन पर्खेर खान सकिने’ वा ‘नष्ट नै गर्नुपर्ने’ विषयमा परीक्षण गरेको पाँच मिनेटमा विश्लेषण प्रतिवेदन दिने क्षमताको छ।
विषादी बिज्ञकाअनुसार कालिमाटी तरकारी बजारमा सरकारले कडाई गर्दै तरकारीमा विषादीको अवशेष उपस्थितसम्बन्धी परीक्षण गर्न थालेपछि तुलनात्मक रुपमा यो दुई समूहको विषादीको प्रयोग विस्तारै किसानले घटाउँदै लगेका छन् ।
सोझो अर्थमा भन्ने हो भने आरबीपीआर प्रयोगशाला अर्गानोफस्फेट र कार्वामेट समूहबाहेक अत्यन्त घातक मानिएका अन्य प्रकारको विषादीको परीक्षण वा पहिचान गर्न सक्षम छैन । यसले गर्दा सर्वसाधारणको ज्यानै जाने गरी प्रयोग भएको विषादीयुक्त तरकारी नेपालमा आयात भइरहेका छन । त्यो पनि सरकारकै सामान्यस्तरको परीक्षणको भरमा।
नेपालमा आयात हुने विषादीमध्ये ८५ प्रतिशतभन्दा बढि विषादी तरकारीमा प्रयोग हुने गरेको सरकारी तथ्याङ्क छ । नियमित रुपमा घातक विषादीयुक्त तरकारी तथा फलफूल उपभोग गर्दा फोक्सो, कलेजो, स्वासप्रस्वास प्रणाली र प्रतिरोधात्मक क्षमतामा दीर्घ असर पर्नुका साथै स्मरणशक्तिमा हस, मनोरोग, छालाजन्य रोग, गर्भ तुहिने, गर्भ नबस्ने, प्रजनन क्षमतामा कमी, मधुमेह, रक्तचाप, मुटुरोग, क्यान्सर र मिर्गौला बिग्रनेजस्ता समस्या देखापर्ने विज्ञहरुले औंल्याएका छन् ।
विषादी विज्ञ तथा कृषि विभागका पूर्वमहानिर्देशक डा. डिल्लीराम शर्माका अनुसार नेपालमा अर्गानोफस्फेट र कार्वामेट समूहबाहेक अत्यन्तै घातक मानिने सेन्थेटिक पाइरिथ्रोड, नियोनिकोटिनोइड, साइपरमेथिन, म्याक्रोसाईक्लिक ल्याक्टोन, निकोटिनोइड, पाइराजोल, फन्गिसाइडस समुहका विषादीयुक्त तरकारी पनि आयात भइरहेको छ ।