खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवन क्षतिग्रस्त बनेको छ।
प्रत्येक स्थानीय तहमा अस्पताल स्थापना गर्ने नेपाल सरकारको नीतिअनुसार सो गाउँपालिकास्थित चिसापानीमा १५ शय्याको अस्पताल बनाउन जग्गा सम्याउँदा प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको हो।
प्राथमिक स्वास्थ्य केन्द्र नजिकै निर्माण गर्न लागिएको अस्पतालका लागि घडेरी सम्याउने क्रममा भवनको जग भत्किएपछि तीन कोठे भवन कामै नलाग्ने अवस्थामा पुगेको कार्यबाहक वडाध्यक्ष धनबहादुर राईले बताए “भर्ना भएका बिरामी राख्नका लागि बनाइएको सो भवनको टेवा पर्खाल र पेटी भत्किएपछि भवनमुनि भ्वाङ परेको छ”, उनले भने, “काम नै नदिने गरी भवनमा क्षति पुगेपछि गाउँपालिकाले भुक्तानीसमेत रोकी दिएको छ।”
प्राथमिक स्वास्थ्य केन्द्रको क्षतिग्रस्त भवनलाई हाल पुरानो सामान राख्न, कोभिड–१९ बाट सङ्क्रमित स्वास्थ्यकर्मी राख्ने क्वारेन्टिनलगायतका काममा उपयोग गरिँदै आइएको थियो। घडेरी सम्याउने क्रममा प्राथमिक स्वास्थ्य केन्द्रको भवनको तीनमध्ये दुई कोठा भासिएको प्रत्यक्षदर्शीले बताएका छन् । विसं २०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको अस्पतालका लागि घडेरी सम्याउने क्रममा जग्गादाता प्रेमबहादुर बस्नेतको घरसमेत जोखिममा परेको छ। कूल रु १८ करोड छ लाख ८२ हजारको सीमाभित्र रहेर आगामी दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने अस्पतालको ठेक्का ड्रागन–रियर जेभीले लिएको छ तर, सो निर्माण कम्पनीले अस्पतालको काम सिद्धगढी निर्माण कम्पनीलाई सुम्पिएको छ।
प्राथमिक स्वास्थ्य केन्द्रको जग कमजोर र अस्पताल निर्माण गर्न लागिएको ठाउँमा पानी निस्किनाले जग खन्नेक्रममा भासिएको नेकपा एमाले जन्तेढुङ्गा गाउँपालिका अध्यक्ष याम राईले बताए। प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेपछि अहिले घडेरी सम्याउने काम रोकिएको स्थानीय बासिन्दाले बताएका छन्।
सेवा प्रवाहका दृष्टिले जन्तेढुङ्गामा प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई एकैठाउँमा राख्न खोजिएको गाउँपालिका प्रमुख शङ्करबहादुर राईले बताए। “विकासे काम गर्दा सामान्य क्षति हुन्छ”, उनले भने, “क्षतिग्रस्त भवन पुनःनिर्माणका लागि ठेकेदार कम्पनीसँग कुरा भइसकेको छ।” अस्पताल निर्माणका क्रममा क्षति पुगेका सम्पूर्ण संरचना सिद्धगढी निर्माण कम्पनीले बनाइदिने कम्पनीका इन्जिनियर यादव केसीले जानकारी दिए। निर्माणाधीन अस्पतालमा अहिले घडेरी सम्याउने, पर्खाल लगाउने, आवश्यक सामग्री ल्याउनेलगायतका काम भइरहेको केठेदार कम्पनीले जनाएको छ।
रासस