एजेन्सी । बिहान उठेपछि मानिसहरू आफ्नो दिनको सुरुवात चिया, कफी, जुसबाट गर्ने गर्छन् ।
बिहान खाली पेटमा बिस्कुट, पाउरोटी, पुरी, समोसा, अण्डा, फलफूल लगायतका खानेकुरा पनि खाने चलन छ। बिहानको खानाले शरीरलाई दिनभरि उर्जा दिनुपर्ने हुँदा बिहान खाइने खानामा ध्यान दिन आवश्यक हुन्छ । बिहान खाइने केही गलत खानाले आन्द्रामा गम्भीर नोक्सान पुर्याउनुका साथै शरीरमा आउने विभिन्न समस्याको कारण पनि बन्न सक्छ।
लामो समयको सुताइपछि पाचन तन्त्रले सक्रिय हुन केही समय लाग्ने हुँदा सुतेर उठेको दुई घण्टापछि मात्रै खान सल्लाह दिइन्छ । धेरैले बिहानको समयमा कफी पिउन रुचाउँछन् । खाली पेटमा कफीको सेवनले एसिडिटी निम्त्याउन सक्छ । खाली पेटमा यसको सेवन गर्नाले पाचन प्रणालीमा हाइड्रोक्लोरिक एसिडको स्रावलाई उत्तेजित गर्छ, जसले कतिपयलाई पेटको समस्या निम्त्याउँछ, त्यसैले खाली पेट कफीको सेवन गर्नु हुँदैन।
त्यस्तै मानिसहरू बिहान खाली पेटमा फलफूल खाने वा जुस पिउने गर्छन्। बिहान खाली पेटमा जुस पिउनु पनि फाइदाजनक हुँदैन । यसले पेटमा अनावश्यक भार दिने भएकाले शरीरलाई फाइदा गर्दैन । फलमा हुने फ्रुक्टोजको रूपमा हुने चिनीले कलेजोमा अत्यधिक दबाब दिने भएकाले खाली पेटमा जुसको सेवन गर्न हुँदैन।
त्यस्तै, अमिलो फलफूलको सेवनले पेटमा एसिड उत्पादन गर्छ । यस्ता फलफूलमा अधिक मात्रामा फाइबर र फ्रुक्टोज पनि हुने हुँदा खाली पेटमा साइट्रसयुक्त फलको सेवनले पाचन तन्त्रलाई कमजोर बनाउँछ । यसबाहेक खाली पेटमा नासपातीको पनि सेवन गर्नु हुँदैन । नासपातीमा पाइने काँचो फाइबरले पेटमा हुने पातलो झिल्लीमा असर पार्छ र पेटमा दुखाइ बढ्न सक्छ।
यसबाहेक बिहान खाली पेटमा काँचो तरकारीको पनि सेवन गर्न हुँदैन । काँचो तरकारीमा पनि फाइबरको मात्रा प्रशस्त हुने कारण यसको सेवनले खाली पेटमा अतिरिक्त भार पार्न जान्छ । खाली पेटमा काँचो तरकारी खानाले पेट फुल्ने तथा पेट दुख्ने समस्या निम्तिन्छ । खाली पेटमा दहीको सेवन पनि गर्न नहुने जनाइएको छ।