एजेन्सी । अझै पनि मानिसहरु यौन जीवनबारे खुलेर कुरा गर्न चाहदैंनन् । यौन जीवन तथा स्वास्थ्यबारे कुरा गर्नेलाई छाडा भन्ने गरिन्छ । तर यो स्वभाविक प्राकृतिक प्रक्रिया तथा जीवनको एक महत्वपूर्ण हिस्सा हो भन्ने ज्ञान भएका मानिसहरुको संख्यामा अझै पनि कमी देखिन्छ।
यौन केवल मनोरञ्जन मात्र होइन । यौनले सृष्टिलाई निरन्तरता दिन्छ । यसले दाम्पत्य जीवनलाई पूर्णता दिने र निकटमा राख्ने काम गर्दछ यौन जीवनलाई कसरी सुखमय बनाउने ? यस सम्बन्धमा धेरै खोज तथा अनुसन्धान पनि भएका छन्।
छाडा र लाज मान्ने कुरा होइन
कामसूत्र यस्तो ग्रन्थ हो, जो हजारौं बर्षदेखि मानिसहरुलाई प्रेमसम्बन्ध र अन्तरंग पलको लागि आवश्यक मार्गदर्शन दिदै आएको छ । यसमा यौन सम्बन्धी जानकारी दिइएको छ, जसले यौन जीवनलाई थप रोमान्चक र उत्कृष्ट बनाउन सहयोग गर्दछ । हिन्दु दार्शनिक वात्सायनले ४०० देखि २०० इश्वीमा कामसूत्र लेखेका थिए।
तर वास्तवमा दुखलाग्दो कुरा चाहि के भने अहिलेको शताब्दीसम्म आइपुग्दा पनि हामीले यौनलाई छाडा वा विकृत रुपमै हेरिरहेका छौं । त्यही कारण यौन सम्बन्धको बारेमा खुलेर जीवनका विभिन्न आयम खोज्नुलाई हामी अपराध ठान्छौं ।
यौन आफैमा छाडा र लाज मान्ने कुरा होइन । तर, प्राचिन शास्त्रले यौनजन्य कुरालाई नितान्त व्यक्तिगत कुरा मानेको छ साथै यस्ता कुराहरुमा गोपनियता अपनाउनुपर्ने सुझाएको छ । यौनलाई भित्र भित्रै गुम्साएर राख्नु हुदैन, त्यो कुण्ठाले यौनजन्य विकृति पैदा गर्छ । त्यसैले यौनका सम्बन्धमा स्पष्ट र खुला वहस हुनुपर्छ ।
शारीरिक सुखमा भावनात्मक सम्बन्ध
निश्चय नै यौन, शारीरिक क्रिया हो । तर, भावनात्मक सम्बन्धको उपस्थिती यसमा सबैभन्दा बढी महत्वपूर्ण मानिन्छ । मानसिक लगाव विना यौन क्रिया रसपूर्ण हुँदैन । जब दुई पार्टनरवीच यौन सम्बन्ध हुन्छ, उनीहरुले मानसिक उपस्थिती पनि उत्तिकै जनाउनुपर्ने हुन्छ ।
यौन सम्वन्धलाई सुमधुर, सुखमय र रसपूर्ण बनाउनका लागि विभिन्न विधीहरुको सदियौंदेखि अभ्यास हुँदै आएको छ । यौन सम्पर्कको विधीलाई मूलत तीन चरणमा राखिएको छ । यौन सम्पर्क गर्नु अघि, सम्पर्कको बेला र सम्पर्कपछि के गर्ने भन्ने कुरा विधिगत् रुपमै सिकाइएको छ ।
यौन क्रिया एवं विधि
यौन सम्बन्धको पूर्व तयारीको रुपमा एक अर्कालाई सदभाव सहितको प्रेम दर्शाइ प्राकक्रिडाको अभ्यास हुनुपर्दछ । प्राकक्रिडा भनेको यौन सम्बन्ध राख्नुअघि गरिने त्यही क्रियाकलाप हो, जसले दुवै साथीको यौन रुची र उत्तेजना बढाइदिन्छ ।
यौन सम्बन्धलाई रोमान्टिक बनाउन दैनिक जीवनमा एक अर्का प्रति उत्तरदायित्व वहन गर्नुका साथै प्रेमपूर्ण व्यबहार दर्शाउनु पर्दछ । त्यसपछि विभिन्न आसनहरुको अभ्यास गरिनुका साथै यौन सम्पर्कपछि पनि पार्टनरको अन्तरंग सम्बन्ध कायम रहनु पर्दछ।
पछिल्ला अध्ययनहरुले के भन्छ भने, सक्रिय यौन जीवनले दाम्पत्य सम्बन्धलाई दिगो र सुमधुर बनाउँछ । त्यतीमात्र होइन, यसले दम्पतीको मानसिक तथा शारीरिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । मानसिक विकार हट्छ । नियमित यौन सम्बन्धले मुटुलाई स्वस्थ्य राख्ने बताइएको छ ।
तर, जथाभावी वा अमानविय ढंगले गरिने यौन सम्बन्धले सुख होइन, कष्ट दिन्छ । यस्ता यौन सम्बन्धले दाम्पत्य जीवनलाई थप पीडादायी बनाउँछ । त्यसैले यौन सम्बन्ध पनि आफैमा अनुशासित र मर्यादित हुनुपर्छ ।