एजेन्सी । हरेक दिन बिहान निद्राबाट ब्युँझनेबित्तिकै धेरैजसो मानिसलाई मोबाइल हेर्ने बानी हुन्छ।
निद्राबाट ब्युँझनेबित्तिकै स्मार्टफोनको डिस्प्ले हेर्नु नराम्रो बानीमध्ये एक हो । यसले आँखामा नकारात्मक असर पुग्न सक्छ। बिहान उठेर मोबाइल चलाउनुको साटो मनतातो पानी पिउने, केही बेर हिँड्ने वा झ्यालमा गएर ताजा हावामा बस्नुपर्ने हुन्छ। उठेपछि आफैँलाई एकदेखि दुई घण्टाको समय दिनु जरुरी हुन्छ।
त्यसपछि मात्रै फोन चलाउने, सामाजिक सञ्जाल हेर्ने वा कामको इमेलतिर ध्यान दिने गर्नुपर्छ। बिहान उठ्नासाथ मोबाइल चलाउने बानीबाहेक अन्य धेरै गलत काम छ जसले स्वास्थ्यमा नकारात्मक असर गर्छ । यस्ता खराब बानीले मानिसलाई सुस्त, नेगेटिभ र बिनाकारण छिट्टै रिस उठ्ने, झर्को मान्ने स्वभावको बनाउने गर्छ । जसकारण घर र अफिसमा सम्बन्ध खराब हुन थाल्छ।
बिहान उठेपछि गर्नु नहुने केही काम यस्ता छन्ः
- ननुहाउनेः बिहान उठेपछि नुहाउन जरुरी हुन्छ । दैनिक बिहान नुहाएर कुनै काममा निस्कनाले मानिसलाई दिनभरि फ्रेस महसुस गराउनुका साथै ऊर्जा पनि दिन्छ । नुहाउँदा शरीरमा राम्रो हर्मोन रिलिज भएको महसुस हुन्छ । जसले शरीरलाई हाई परफर्मेन्स इनर्जीका लागि तयार गर्छ ।
- बिहानको खाजा नखानेः ब्रेकफास्ट नखाने बानी धेरै जनामा हुन्छ । कतिपय मानिसहरू ढिलो उठ्ने र पछि केही नखाई चिया वा कफीसँग दिनको सुरुवात गर्ने गर्छन् । दिनको राम्रो सुरुवातका लागि स्वस्थ ब्रेकफास्ट गर्नु जरुरी हुन्छ । बिहानको डाइटमा मनतातो पानी पिएपछि अण्डा, टोस्ट, ओटमिल वा ताजा फलको सेवन गर्न सकिन्छ ।
- नकारात्मक विचार ल्याउनुः बिहान उठ्नेबित्तिकै आफ्नो जीवनमा भइरहेको नकारात्मक कुरा वा कठिन समयबारे सोच्नु हुँदैन । यसको साटो ध्यान गर्ने, सकारात्मक कुरा सोचेर आफूलाई उत्प्रेरित गर्ने काम गर्नुपर्छ । जीवनमा चलिरहेको राम्रो कुरा स्मरण गर्ने, खुसी हुने गर्नुपर्छ । बिहान मनमा आउने नकारात्मक विचारले मानिसलाई हतोत्साहित बनाउँछ ।