एजेन्सी । शरीरमा भिटामिनको कमी हुँदा ओठ फुट्ने, हड्डी कमजोर हुनेदेखि लिएर विभिन्न सङ्केतहरू देखिन सक्छ । कमजोर दाँत र हड्डीले भिटामिन डीको कमीलाई सङ्केत गर्छ भने ओठ फुट्नु र गिजाबाट रगत बग्नु भिटामिन बी र भिटामिन सीको कमीको लक्षण हो।
शरीरमा भिटामिनको कमिका कारण खुट्टा फुट्नु असामान्य भएपनि बेवास्ता गर्न नहुने महत्त्वपूर्ण लक्षण हो । धेरै पीडादायी र छुटकारा पाउन गाह्रो हुने खुट्टा फुट्ने समस्या हावा र शरीरमा नमीको कमीको कारण हुन्छ ।
भिटामिन बी ३, सी र ई छालाको स्वास्थ्य कायम राख्नको लागि अत्यन्तै आवश्यक भिटामिन हुन् र खुट्टा फुट्नु यी भिटामिनको कमीको सङ्केत हुन सक्छ । छाला विशेषज्ञहरूका अनुसार भिटामिनको कमीको कारणले गर्दा खुट्टा फुटेको समस्या हुनु एकदमै दुर्लभ छ । तर एक्जिमा, मधुमेह, हाइपोथाइरोइडिज्म आदि जस्ता अन्य रोग लागेमा मानिसमा यो समस्या धेरै देखिन सक्छ ।
भिटामिन बी ३ छाला र मस्तिष्क स्वास्थ्य को लागी धेरै महत्त्वपूर्ण हुन्छ । स्मरण शक्तिमा कमी आउने, झाडापखाला लाग्ने, छाला सुन्निने र जिब्रो रातो हुनु भिटामिन बी ३ कमी हुँदा देखिने लक्षण हुन् । कहिलेकाँही भिटामिन बी ३ को कमीले हात, खुट्टा, घाँटी जस्ता प्रकाशको सम्पर्कमा रहेका क्षेत्रहरूमा छाला रातो हुने, पोल्ने चिलाउने समस्या निम्त्याउन सक्छ ।
गिजा र छालालाई स्वस्थ राख्नका लागि भिटामिन सी महत्त्वपूर्ण हुन्छ । भिटामिन सीको कमीले स्कर्भी नामक रोग लाग्न सक्छ जसकारण गिजाबाट रगत बग्ने, कपालको फोलिकलवरिपरि रगत बग्ने र घाउ ढिलो निको हुने हुन्छ । कपाल झर्ने, थकान र रक्तअल्पता भिटामिन सीको कमीका अन्य केही लक्षण हुन् ।
ब्युटी भिटामिनको रूपमा चिनिने भिटामिन ई' प्रतिरक्षा प्रणाली, कोशिकाहरू र रक्त परिसञ्चारण कायम राख्न महत्त्वपूर्ण छ । शरीरमा भिटामिन ईको कमीले मांसपेशी कमजोर हुने, छाला सुख्खा हुने, चाउरी पर्ने र समयअगावै बुढ्यौलीपना निम्त्याउँन सक्छ ।