एजेन्सी । प्रायः मानिसहरू सताउने कपाल झर्नु वा टुक्रिने समस्यालाई एक सामान्य समस्याको रूपमा लिइन्छ ।
कपाल झर्ने समस्या महिला र पुरुष दुवैमा फरक-फरक तरिकाले देखिन्छ । कपाल झर्ने सबैभन्दा आम अवस्था वा एन्ड्रोजेनेटिक एलोपेसियामा भने महिला र पुरुषको कपाल झर्ने प्यार्टन मिल्छ । सामान्यतयाः ५० भन्दा बढी उमेरका पुरुष र ६५ वर्षभन्दा बढी उमेरका महिलाहरूमा यो समस्या धेरै देखिने हुन्छ ।
तर, यसरी कपाल झर्ने समस्या पछाडिको कारण उमेर बढ्नु मात्र नभई खानपान पनि रहेको विज्ञहरू बताउँछन् । खानाका कारण कपालमा असर पुग्ने र कपाल पातलो बनाउने गर्छ । यसै कारण पनि युवाहरूमा कपाल झर्ने प्यार्टन देखिन थाल्छ । युकेका प्रसिद्ध ट्राइकोलोजिस्ट केभिन मुरका अनुसार अत्यधिक मात्रामा नुनको सेवनले कपाललाई असर पर्छ । जसकारण कपाल झर्छ ।
ुधेरै मात्रामा नुनको सेवनले शरीरमा सोडियम बन्छ । जुन कपालको जराको वरिपरि जम्मा हुन थाल्छ । यसले कपालमा फोलिकलमा रक्तसञ्चारमा असर पार्ने हुँदा महत्त्वपूर्ण पोषक तत्व कपालको जरासम्म पुग्न पाउँदैन’, उनले भने । सोडियमको मात्रा धेरै हुँदा कपाल रुखो हुने, कमजोर हुने हुन्छ जसले गर्दा कपाल झर्न थाल्ने उनी बताउँछन् ।
तर, सोडियमको मात्रा कम भए पनि कपालको विकास नहुने उनको भनाइ छ । थोरै मात्र नुनको सेवन गर्दा आयोडिनको कमी हुन्छ । यो थाइराइड क्रियाका लागि आवश्यक चिज हो । थाइराइड असन्तुलित भए कपाललाई प्रभाव पार्ने र यसले कपाललाई रुखो र पातलो बनाई कपाल झर्ने हुनसक्छ । स्नायु र मांसपेशीहरूको कार्यको लागि शरीर नुनमा निर्भर हुन्छ, तर नुनको धेरै मात्राले रक्तचापलाई बढाउन सक्छ । यसले हृदयघात र स्ट्रोकको जोखिम बढाउँछ ।
एनएचएसका अनुसार एक दिनमा ६ ग्रामभन्दा बढी नुनको सेवन गर्न हुँदैन । यो लगभग एक चम्चा हो जसमा दुई दशमलव चार ग्राम सोडियम हुन्छ । खाना बनाउने समयमा नुनको मात्रालाई ध्यानमा राख्न आवश्यक छ । साथै टमाटरको सस, प्याकेज गरिएको खाना, ब्रेड, तयारी खाना, जङ्क फुड, प्रोसेस्ड मिट, पिज्जा, स्यान्डविच र सूप जस्ता खानामा पहिले नै धेरै नुन हुने हुँदा यस्ता खाना खानु वा खरिद गर्नु अगाडि ध्यान दिनुपर्ने आजतकमा उल्लेख छ ।