इलाम । जिल्लाको फाकफोकथुम पालिकास्थित कोभिड अस्पतालका लागि मानव अधिकार मञ्च नेपाल इलामले मंगलबार स्वास्थ्य एवं बालमैत्री सामग्री सहयोग गरेको छ।
बालबालिकाको आपतकालीन उद्धार, राहत र संरक्षण तथा परामर्शका लागि संचालित बाल हेल्पलाइन १०९८ अन्तर्गत ८३ हजार ७ सय ५ रुपैयाँ बराबरको औषधि, स्वास्थ्य, शिक्षा, खेलकुद तथा मनोरञ्जनका सामग्री प्रदान गरेको हो । बालबालिका विपद् सहयोग कार्यक्रमअन्तर्गत मञ्चले फाकफोकथुमपालिका पुगेर बालबालिका तथा उनीहरूको परिवारका लागि कोभिड अस्पतालमा आवश्यक पर्ने सामग्री उपलब्ध गराएको हो ।
सेनिटाइजर, माक्स, ग्लोब्स, फिनेल, थर्मोमिटर, इलेक्ट्रिक जग, कपसेट, डस्टबिन, अक्सिमिटर, औषधिलगायतको स्वास्थ्य सामग्री, डल, बल, ब्लक्स, कलर पेनसिल, ड्रइङ पेपर, पोटोकपि पेपर, कलपेन, लुँडो, चेस, क्यारमबोर्ड, एबिसिडी चार्ट, स्टोरी बुकलगायतको शैक्षिक, खेलकुद एवं मनोरञ्जनको सामग्री उपलब्ध गराइएको हो ।
गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष सरस्वती राई, प्रमुख प्रशासकीय अधिकृत शिवनाथ यादवलगायतको उपस्थितिमा मञ्चका बाल हेल्पलाइनप्रमुख भक्त थामी, डेस्क अफिसर रन्जु थामी र लेखा अधिकृत सोनिशा शंकरको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।
ओमिक्रोन कोरोना भाइरस (कोभिड–१९) को तेस्रो लहरलाई लक्षित गरी बाल हेल्पलाइनले इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विभिन्न स्थानीय तहमा स्वास्थ्य एवम् बालमैत्री सामग्री सहयोग गर्दै आएको छ ।
यसअघि इलाम अस्पताल, चुलाचुली गाउँपालिका, सूर्योदय नगरपालिका, माईजोगमाई गाउँपालिका, रोङ गाउँपालिका र माई नगरपालिका एवं पाँचथरको कुम्मायक गाउँपालिका र मिक्लाजुङ गाउँपालिकालाई सामग्री उपलब्ध गराइसकेको छ । यस्तै इलामको देउमाई नगरपालिका र पाँथचरको जिल्ला अस्पताल, ताप्लेजुङको जिल्ला अस्पताल, सिरिजंगा गाउँपालिका र मैयाखोला गाउँपालिका एवं तेह्रथुमको आठराई गाउँपालिकाको स्वास्थ्य संस्थामा सामग्री उपलब्ध गराउनेछ ।
कोभिड अस्पतालमा सञ्चालित चार जिल्लाका १५ स्वास्थ्य संस्थामा ११ लाख २२ हजार रुपैयाँ बराबरको स्वास्थ्य, शैक्षिक, खेलकुद एवं मनोरञ्जनको सामग्री उपलब्ध गराइने बाल हेल्पलाइन प्रमुख थामीले बताए ।
ओमिक्रोन भाइरसले बालबालिकालाई बढी प्रभाव पर्ने भनिएकोले कोभिड लागेका बालबालिका र उनका परिवारलाई सहुलियत हुने गरी उनीहरूलाई आइसोलेसनमा आवश्यक सामग्री उपलब्ध गराइएको थामीको भनाइ छ। किन्नरमिसनरेक जर्मनीको सहयोगमा मानवअधिकार मञ्च नेपाल इलामको आयोजनामा इलाममा बाल हेल्पलाइन १०९८ सञ्चालित छ।