तुलसीपुर । स्वास्थ्यका लागि पानी अपरिहार्य मानिन्छ तर दाङको एक स्वास्थ्यचौकीका बिरामीले पानी खान पनि पाउँदैनन् । तुलसीपुर उपमहानगरपालिका–१३ फूलबारीस्थित स्वास्थ्यचौकीमा अहिलेसम्म पनि खानेपानीको व्यवस्था छैन ।
०३१ सालदेखि त्यस क्षेत्रमा सञ्चालित उक्त स्वास्थ्यचौकीमा पानी नहुँदा बिरामीले पनि पानी घरबाटै ल्याउनुपर्ने अवस्था रहेको स्वास्थ्य चौकीका इञ्चार्ज ज्ञानबहादुर डाँगीले बताए । ‘सबैभन्दा समस्या हाम्रो स्वास्थ्यचौकीमा खानेपानीकै छ, यहाँ पानीको व्यवस्था नभएकाले बिरामीले घरबाटै पानी बोकेर ल्याउनुपर्ने अवस्था छ’, उनले भने,‘यहाँ कार्यरत कर्मचारीले पनि घरबाटै पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।’ बिरामीलाई पनि कहिलेकाहीँ औषधि खुवाउन कर्मचारीले नै पानी ल्याएर खुवाउनुपर्ने अवस्था छ ।
धारा जडानका लागि पटकपटक सम्बन्धित निकायमा आग्रह गरिए पनि त्यसले सार्थकता पाउन सकेको छैन । कार्यालयमा स्यालो ट्युबेल जडान गर्न सकिने भएकाले यसका लागि पनि भने छलफल अघि बढाइएको इञ्चार्ज डाँगीले बताए । उक्त स्वास्थ्य चौकीमा एक अनमी, दुई अहेब, एक जनस्वास्थ्य निरीक्षक, एक ल्याब असिस्टेन्ट कार्यरत छन् ।
त्यहाँ ल्याब, बर्थिङ सेन्टरलगायत सेवा पनि सञ्चालनमा रहे पनि मापदण्डअनुसारको भवन नहुँदा पनि समस्या भएको इञ्चार्ज डाँगीको भनाइ थियो । ‘हामीसँग १० कठ्ठा जग्गा छ, त्यहाँ राम्रो मापदण्ड भएको भवन निर्माण गर्न सकिन्थ्यो’, उनले भने, ‘अहिलेसम्म पुरानै भवनमा छौँ, मापदण्ड अनुसारका भवन नहुँदा समस्या भएको छ ।’ एउटा कोभिड भवन पनि आवश्यक रहेको इञ्चार्ज डाँगीको भनाइ थियो ।
स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा मासिक सरदर ६ जनाले सेवा लिने गरेका छन् भने ल्याब सेवामा मासिक सरदर २०र२२ जनाले सेवा लिने गरेका छन् । ल्याबका लागि चाहिने आवश्यक सामग्रीसमेत उपमहानगरपालिकाले उपलब्ध नगराएकाले कर्मचारीले नै ल्याउनुपर्ने अवस्था छ ।
उक्त स्वास्थ्यचौकीबारे गुनासो बढेपछि बल्ल लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी खत्री(वली)ले चासो देखाएकी छन् । उनले स्वास्थ्यचौकीको अनुगमनपछि त्यसलाई सुधार गर्न पहल थाल्ने बताइन् । ‘त्यहाँ पानीको पनि समस्या देखियो, सामग्री पनि खरिद गर्नुपर्ने अवस्था देखियो, भवनको पनि त्यतिकै समस्या रहेछ’, उनले भनिन्, ‘यो समस्या समाधान गर्न म पहल गर्छु ।’