एजेन्सी । खानपान र जीवनशैलीमा परिवर्तनसँगै महिलामा प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या बढ्दै गएको पाइएको छ।
धेरैजसो युवतीमा अनियमित महिनावारी हुने, महिनावारी ढिलो हुने जस्ता समस्या सामान्य बन्दै गएको छ । महिनावारी अनियमित हुनुका धेरै कारण हुन सक्छन् । गर्भावस्था, गर्भपतन, पोलिसिस्टिक ओभरी डिजिज (पिसिओडी), थाइराइड, हर्मोनसम्बन्धी समस्या, टिबी, अन्य कुनै रोग वा सङ्क्रमणका कारण महिलामा महिनावारीको समस्या हुने गर्छ ।
यसबाहेक धेरै डाइटिङ गरेर अचानक तौल घटाउने महिलाको महिनावारी अनियमित हुन थाल्छ। महिनावारीमा देखिने समस्या कोरोना भाइरसको महामारीपछि बढेको पाइन्छ । कोरोनाको समयमा अव्यवस्थित जीवनशैलीका कारण धेरैजसो महिलाको तौल बढेको हो । तौल बढ्नु महिनावारी ढिलो हुने कारणमध्ये एक हो । साथै यसले पिसिओडीका केस पनि बढाएको छ।
तौल बढेसँगै पिसिओडीको समस्या गम्भीर हुँदै जान्छ । लकडाउनमा मानिसको मानसिक स्वास्थ्यमा नराम्रो प्रभाव परेको हुँदा महिलाहरूले धेरै र अस्वस्थकर खान थालेका छन् । यो बानी पनि तौल बढ्ने र महिनावारी अनियमित हुनुको कारण बनेको छ । अनियमित महिनावारी हुने समस्याले भविष्यमा विभिन्न समस्याहरू निम्त्याउन सक्छ।
सामान्यता, महिनावारीको चक्र २५ देखि ३५ दिनको हुनुपर्छ, तर यो चक्र ढिलो भयो भने पाठेघरमा जम्मा हुने रगतको तह बाक्लो हुन सक्छ । अनियमित महिनावारीको समस्याले उच्च रक्तचाप, मधुमेह र थाइरोइडको समस्या निम्त्याउन सक्छ । यस्ता बिरामीहरूमा इन्डोमेट्रियल कार्सिनोमा (क्यान्सर) पनि हुन सक्छ।
उच्च रक्तचाप, मोटोपना र मधुमेहको समस्या भएका महिलामा क्यान्सर हुन सक्छ । यो समस्या मेनोपज (महिनावारी सुक्ने अवस्था) नजिक हुन्छ । त्यसैले महिनावारीमा समस्या देखिएका वेबास्ता गर्नुभन्दा समयमै चिकित्सकसँग परामर्श लिनु जरुरी हुने दैनिक भास्करमा उल्लेख छ।