एजेन्सी । हरेक दिन बिहान निद्राबाट ब्युँझनेबित्तिकै धेरैजसो मानिसलाई मोबाइल हेर्ने बानी हुन्छ।
निद्राबाट ब्युँझनेबित्तिकै स्मार्टफोनको डिस्प्ले हेर्नु नराम्रो बानीमध्ये एक हो । यसले आँखामा नकारात्मक असर पुग्न सक्छ । बिहान उठेर मोबाइल चलाउनुको साटो मनतातो पानी पिउने, केही बेर हिँड्ने वा झ्यालमा गएर ताजा हावामा बस्नुपर्ने हुन्छ । उठेपछि आफैँलाई एकदेखि दुई घण्टाको समय दिनु जरुरी हुन्छ।
बिहान उठेपछि गर्नु नहुने केही काम यस्ता छन्ः
- ननुहाउनेः बिहान उठेपछि नुहाउन जरुरी हुन्छ । दैनिक बिहान नुहाएर कुनै काममा निस्कनाले मानिसलाई दिनभरि फ्रेस महसुस गराउनुका साथै ऊर्जा पनि दिन्छ । नुहाउँदा शरीरमा राम्रो हर्मोन रिलिज भएको महसुस हुन्छ । जसले शरीरलाई हाई परफर्मेन्स इनर्जीका लागि तयार गर्छ।
- बिहानको खाजा नखानेः ब्रेकफास्ट नखाने बानी धेरै जनामा हुन्छ । कतिपय मानिसहरू ढिलो उठ्ने र पछि केही नखाई चिया वा कफीसँग दिनको सुरुवात गर्ने गर्छन् । दिनको राम्रो सुरुवातका लागि स्वस्थ ब्रेकफास्ट गर्नु जरुरी हुन्छ। बिहानको डाइटमा मनतातो पानी पिएपछि अण्डा, टोस्ट, ओटमिल वा ताजा फलको सेवन गर्न सकिन्छ।
- नकारात्मक विचार ल्याउनुः बिहान उठ्नेबित्तिकै आफ्नो जीवनमा भइरहेको नकारात्मक कुरा वा कठिन समयबारे सोच्नु हुँदैन । यसको साटो ध्यान गर्ने, सकारात्मक कुरा सोचेर आफूलाई उत्प्रेरित गर्ने काम गर्नुपर्छ । जीवनमा चलिरहेको राम्रो कुरा स्मरण गर्ने, खुसी हुने गर्नुपर्छ । बिहान मनमा आउने नकारात्मक विचारले मानिसलाई हतोत्साहित बनाउँछ ।
- दिनभरिका लागि योजना नबनाउने, योजनाअनुसार नचल्नेः बिहान उठेर सबैभन्दा पहिलो आफ्नो दिनको योजना बनाउने र त्यसअनुसार चल्नु अत्यावश्यक हुन्छ । कामको दिन होस् वा बिदाको दिन योजना बनाउन जरुरी हुन्छ । बनाएको योजनाअनुसार चल्नु पनि उत्तिकै जरुरी हुन्छ । खाली समय भएमा घरको बाँकी रहेको काम गर्ने, बोटबिरुवामा पानी हाल्ने लगायतको काम गर्न सकिन्छ ।