काठमाडौं । गण्डकी प्रदेशका तीन जिल्लामा हात्तीपाईले रोग विरुद्धको आम औषधि खुवाइंने भएको छ। हात्तीपाईले रोग विरुद्धको आम औषधि गण्डकीका लमजुङ, पर्वत र बाग्लुङमा खुवाइने भएको हो।
सन् २०३० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य तथा रणनिती अनुरुप नेपाल सरकारद्धारा सबै हात्तीपाइले रोग प्रभावित जिल्लाहरुमा अभियान संचालन गर्ने भएको छ।
गण्डकी प्रदेशका ११ जिल्ला मध्ये लमजुङ, पर्वत र बाग्लुङ गरि ३ जिल्लामा १३ औं चरणमा राष्ट्रिय हात्तीपाईले रोग विरुद्धको आम औषधि सेवन अभियान फाल्गुण २८ गते देखि संचालन हुन लागेको हो।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा स्वास्थ्य सेवा विभागस्तरको निर्णयानुसार उक्त औषधि सेवन कार्य सञ्चालन हुँदैछ।
जस अन्तरगत आम औषधि सेवनका लागि लमजुङ जिल्लाको जम्मा जनसंख्या १ लाख ६० हजार ७ सय ८१ जना, यसै गरि पर्वत जिल्लाको जम्मा जनसंख्या १ लाख ३१ हजार ३९ जना रहेको छ। साथै वाग्लुङ जिल्लाको जम्मा जनसंख्या ३ लाख ११ हजार ९ सय २२ जनामा औषधि खुवाउने लक्ष्य रहेको छ।
गण्डकी प्रदेशका यी जिल्लाका सबै नागरिकमा सामुदायिक स्वास्थ्यको सुनिश्चितताका लागि सबैले राष्ट्रिय हात्तीपाईले रोग निवारण कार्यक्रमलाई सफल बनाउन आम औषधि सेवन अभियानलाई सहयोग गर्न गण्डकी प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,स्वास्थ्य निर्देशनालयले अनुरोध गरेको छ।