काठमाडौं । जावलाखेलस्थित लेजर थेरापी क्लिनिकले एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नारी दिवसका अवसर पारेर गरिएको उक्त शिविरमा विभिन्न प्रकारका ल्याब टेष्टमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
अझै पनि जनमानसमा ठूलै स्वास्थ्य समस्या नभई अस्पताल जाने तथा परीक्षण गर्ने परिपाटी नरहेकोले त्यसबारे जनचेतना फैलाउने मुख्य लक्ष्यसहित स्वास्थ्य शिविरको सञ्चालन गरिएको क्लिनिक सञ्चालक डा.शुसीला बैद्य बताउँछिन्।
शिविरमा आउने बिरामीहरुले निशुल्क रुपमा समान्य चेकजाँच गराउने तथा पुराना रिपोर्टहरु देखाउन सक्ने व्यवस्था छ। स्वास्थ्य परीक्षणका लागि आउन नचाहने मानिसहरु पनि निशुल्क तथा विशेष छुटको व्यवस्थाले परीक्षणमा आकर्षित हुनसक्ने भन्दै उक्त क्लिनिकले समय समयमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ। यस पटक कम्तीमा पनि १०० जनालाई स्वास्थ्य सेवा दिने लक्ष्य क्लिनिकले राखेको छ ।
शिविरमा मुटु रोग, दन्त सेवा ,प्रसुती सेवा लगायतका रोगका बिरामी लाभान्वित हुनेछन्। नारी दिवसको अवसरमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरको मुख्य लक्ष्य विशेष गरी नारीहरुमा जनचेतना बढाउनु रहेको डा.एन्जेला बैद्य बताउँछिन् । ग्रामीण भेगका महिलाहरुमा बाहेक सहरी क्षेत्रमा बसोबास गर्ने धेरै नारीहरुमा दिनप्रतिदिन चेतनाको स्तर बढिरहेको उनको दाबी छ ।
अझै पनि महिलाहरुमा स्वास्थ्य परीक्षण गराउने परिपाटी कमै भएको हुँदा त्यस्ता महिलाहरुलाई स्वास्थ्यबारे जनचेतना फैलाउनका लागि यो शिविर महत्वपूर्ण हुने उनको भनाइ छ ।
लेजर थेरापी क्लिनिकले एक प्रकारको विकिरण माध्यमबाट मुटु, फोक्सो, हाडजोर्नी, पेट, आन्द्रा, नसा, पिसाब र मूत्रनली, स्त्री, नाक, कान, घाँटी र अन्य छालासम्बन्धी रोगहरूको उपचार गर्दै आइरहेको छ ।