फागुन । सरकारले फागुन २८ गतेदेखि हात्तिपाइलेविरुद्धको औषधि खुवाउने अभियान चलाउने भएको छ । देशभरका १० जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार २८ गते तोकिएको बुथमा औषधि खुवाइने छ भने अन्य दिन घरघरमै गएर औषधि खुवाउने कार्यक्रम रहेको छ । उनले औषधि खुवाउनका लागि १५ दिनको समय तोकिएको भएपनि साताभरमा कार्यक्रम सकिने बताए ।
हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम तय भएको उनले बताए। हात्तिपाइले रोग विरुद्ध यसअघि प्रयोग भइरहेका औषधिहरु डाइथाइलकार्बामाजिन १०० एमजी र ४०० एमजीको अल्बेन्डाजोल हो। सरकारले ५ जिल्लामा भने यो औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि थप गरेको छ। यो औषधिलाई लुतोको उपचारमा पनि प्रयोग गरिन्छ।
विश्व स्वास्थ्य सङ्गठनले नै यो औषधिलाई हात्तिपाइले रोगविरुद्ध प्रयोगका लागि अनुमती दिएको डा। दासको भनाइ छ। डा। दासले तीन प्रकारका औषधि प्रयोग गरिने पाँच जिल्लामा मोरङ, कपिलबस्तु, दाङ, बाँके र कैलाली रहेको बताए। यी जिल्लाहरूमा डाइथाइलकार्बामाजिन प्रयोग गरिएका व्यक्तिहरुमा पनि हात्तिपाइले रोग निवारण हुन नसकेपछि आइभरमेक्टिन औषधि थप गरिएको डा.दासको भनाइ छ।
यस्तै दुई प्रकारका औषधि प्रयोग गरिने जिल्लामा झापा, बारा, लमजुङ, पर्वत र बागलुङ रहेको छ। विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वबाटै हात्तिपाइले रोग निवारण हुने लक्ष्य लिएको थियो। तर, नेपालमा अझै पनि जोखिम रहेकाले औषधि वितरण कार्यक्रम हुँदै आएको छ।
नेपालमा विगतमा ६३ जिल्लामा हात्तिपाइले रोगको जोखिम थियो। सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको हो। अहिले ४८ वटा इन्डेमिक जिल्लामा औषधि सेवन अभियान कार्यक्रम बन्द भइसकेको छ।
हात्तिपाइले रोग विरुद्धको औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुेका सुत्केरी र खाली पेटमा सेवन गर्न हुँदैन। यसका साथै सरकारले व्यक्तिको उचाइका आधारमा औषधिको मात्रा दिने गर्दछ।
हात्तीपाइलेको औषधि कसले खाने, कसले नखाने?
हातीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्छ।
संक्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन्। लक्षण देखिइसकेपछि भने रोग निको पार्न सकिँदैन।
हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि रोगको जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन हुँदै आएको छ।
हात्तीपाइले रोगको परजीवी मुक्त हुन के गर्ने?
नेपाल सरकारले रोग प्रभावित जिल्लाहरुमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागी भइ वर्षको एक पटक लगातार ६ वर्षसम्म हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गर्ने र अरुलाई पनि गर्न लगाउने।
हात्तीपाइले रोगबाट बच्न कस्तो औषधि सेवन गर्ने र यसले के गर्छ?
हात्तीपाईले रोगबाट बच्न दुई थरि औषधिहरु प्रयोग गरिन्छ। जुन पूर्णरुपमा सुरक्षित मानिन्छ। यी औषधि दसौं बर्षदेखि विश्वभरी प्रयोग हुँदै आइरहेका छन्। हालसम्म विश्वभर अरबौं मात्रामा र नेपालमा पटकपटक गरी १० करोडभन्दा बढी मात्रामा यी औषधि खाइसकिएको छ। दुई थरि औषधिले हातीपाइले रोग लागिसकेकाहरुको उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ।
हातीपाइले रोग विरुद्धको औषधि कस कसले सेवन गर्नु हुँदैन ?
दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु ,गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरु (कुनै कडा रोग लागि औषधि सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगी), छारे रोगीहरु, २४ घण्टाभित्र ज्वरो आएको तथा कडा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्नु हुँदैन।
हात्तीपाइले रोग विरुद्धको औषधि क–कसले सेवन गर्नु पर्छ?
आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरुमा बसोबास गर्ने औषधि सेवन गर्न मिल्ने सबै व्यक्तिले औषधि सेवन गर्नुपर्दछ ।
हात्तीपाइले रोग विरुद्धको औषधि कसले दिन्छ र सेवन गर्नु कहाँ जानुपर्छ?
आम औषधि सेवन कार्यक्रम लागु भएका जिल्लाहरुमा तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुले तपाईंको घर नजिकैको बुथमा औषधि खुवाँउछन्।
हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा ध्यान दिनुपर्ने केही कुराहरु छन् की?
यो औषधि खाली पेटमा खानुहुँदैन। शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरुको हातीपाइले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ। यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दैछ भन्ने बुझ्नु पर्छ। ती लक्षणहरु केही घण्टाभित्रमा आफैं हराएर जाने हुन्छ। केहीगरी ती लक्षणहरु लामो समयसम्म रहिरहेमा नजिकको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्छ।