काठमाडौं । चिकित्सा शिक्षा आयोगले विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको सोमबार बसेको बैठकमा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले एमबीबीएस अध्ययनका लागि अतिरिक्त शुल्क लिएको र विद्यार्थीलाई अनावश्यक तनाव दिएको भन्दै कारबाही प्रक्रिया अगाडि बढाएको बताए ।
उनले कलेजको एमबीबीएस कोटा घटाउने, कोटा खारेज गर्ने तथा सम्बन्धन खारेज गर्नेजस्ता कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । ‘अतिरिक्त शुल्क नलिनु भनेर हामीले धेरै पहिलेदेखि कलेजलाई भन्दै आएका थियौँ’, उनले भने, ‘तर कलेजले विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउनुका साथै विद्यार्थीलाई अनाश्यक तनाव दिएकाले कारबाही प्रक्रिया अगाडि बढाएका छौँ ।’
डा. गिरीले आगामी चैत ४ गते बस्ने बोर्डको बैठकले कारबाहीबारे निर्णय गर्ने जानकारी पनि दिए । आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेले कलेजले छात्रबासका नाममा अतिरिक्त शुल्क उठाउने गरेको पाइएकाले नउठाउन निर्देशन दिइएको बताए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले कलेजले विद्यार्थीको समस्या एक साताभित्र समाधान नगरे कारबाही प्रक्रिया अगाडि बढ्ने दाबी गरे । बैठकमा समितिका सभापति जयपुरी घर्तीले मेडिकल कलेजले कानुनले तोकेकोभन्दा बढी नै शुल्क लिने गरे तापनि नियन्त्रण गर्न कठिनाइ भएको बताइन् ।
‘एमबीबीएस शुल्कमा केही नियन्त्रण त भएको छ । तर सबै भएको छैन’, उनले भनिन्, ‘कानुनले तोकेकोभन्दा बढी उठाउन नपाउने गराउनुपर्छ ।’ उनले कलेजले छात्राबास र अनेक बहानामा अतिरिक्त शुल्क लिने गरेको बताइन् ।
सभापति घर्तीले तत्काल आयोग, कलेज र जिल्ला प्रशासनसँग समन्वय गरेर विद्यार्थीलाई पढ्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन् । उनले तीन महिना पढाइ छुटेका विद्यार्थीलाई पुनःकक्षा सञ्चालन गर्न पनि कलेजलाई निर्देशन दिइन् ।