काठमाडौं । विश्व मृगौला दिवसको अवसरमा त्रिभुवन विश्व विद्यालय अस्पताल,महाराजगन्जको नेफ्रोलोजी विभागले अन्तक्रिया कार्यक्रम गरेको छ । विश्व स्वास्थ्य संगठनले मार्च १० लाई बिश्व मृगौला दिवसको रुपमा मनाउने घोषणा गरेसँगै नेपालमा पनि हरेक वर्ष यो दिवस मनाउन थालिएको हो ।
उक्त अन्र्तक्रिया कार्यक्रममा डा.प्रेमराज ज्ञवाली, स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिंह, चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा डा. प्रेमराज ज्ञवालीले नेपाल लगायतका बिकासोन्मुख मुलुकहरुमा पनि मृगौला रोगीहरुको संख्या अत्यन्त चुनौतिपूर्ण रुपमा बढेको बताए । उनका अनुसार मृगौला रोगको सिघ्र पहिचान तथा र त्यसको समयमै निदान नै मृगौला स्वस्थ्य राख्ने मुख्य उपाय हो ।
मृगौला स्वस्थ्य राख्न हरेक दिन कम्तीमा तीन लिटर पानी पिउनुपर्छ, मधुमेह र उच्च रक्तचापलाई सन्तुलनमा राख्नुपर्छ। त्यस्तै चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले धुमपानको आदत भएका, ५० वर्ष भन्दा माथिका बयश्कहरु र मृगौलामा समस्या भएकाहरूलाई मृगौला रोगको खतरा बढी हुनेभएकाले हरेक वर्ष अनिवार्य रुपमा मृगौला परीक्षण गर्नुपर्ने बताए ।
उनले भने मृगौला रोग लागिसकेपछि यसको उपचार अत्यन्त महँगो भएकाले समयमै मिर्गौला परीक्षण गरी रोगको निदान र उपचार गर्नु बुद्धिमानी हुन्छ । बिलासितापूर्ण जिवन जिउने र सुविधा भोगी जिवनशैलीले मोटोपनासँगै मृगौलाको समस्याहरु बढ्दै गएकाले सन्तुलित खाना सरल जिवनशैली र पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ बिहान वा बेलुका कम्तिमा ३० देखी ४५ मिनेट हिडडुल गर्नु अनिवार्य छ ।
संचारमाध्यमहरुको सक्रियता र बिभिन्न सचेतना कार्यक्रमहरुका कारण बढ्दो जनचेतनास्तरले पछिल्लो समयमा उपचारको दायरामा आउनेहरुको संख्यापनि उल्लेख्य रुपमा बढेको छ । पछिल्ला दिनहरुमा मृगौलाले काम गर्न छाडेर उपचारका लागि अस्पतालमा आउनेहरुमा बैदेसिक रोजगारीका लागि खाडिका बिभिन्न मुलुकमा गएर फर्कीएका नेपालीहरुको संख्यापनि ठूलो छ ।