मृगौला के हो ?
मिर्गौला हाम्रो शरीरको निष्कासन प्रणालीसँग सम्बन्धित अंग हो। यसले शरीरका विकारयुक्त कुरा फाल्ने, पानीको सन्तुलन मिलाउने, रातो रक्तकोष बनाउन चाहिने हर्मन उत्पादन गर्ने, ग्लुकोजको व्यवस्थापन गर्नेलगायत काम गर्छ। यो एकदमै महत्वपूर्ण अंग हो। हरेक मानिसको जन्मजात नै दुईवटा मृगौला हुन्छन् । यिनीहरू पेटको पछाडिको भागमा हुन्छन्। मिर्गौला सिमी आकारका हुन्छन्।
मिर्गौलामा कस्ता रोगहरु लाग्छन् ?
मिर्गौलामा लाग्ने रोगका विभिन्न वर्ग छन्। एउटा अनुवांशिक नै हुन्छ। जस्तो कि पोलिसिस्ट् किड्नी डिजिज्। यो रोग लागेका मानिसको किड्नीमा जन्मैदेखि पानी भरिएको फोकाहरु हुन्छन्। यो रोग लागेको मानिसको परिवारका अरु सदस्य पनि यो रोगबाट ग्रसित हुन्छन्। र, ४० वर्षको उमेरमा पुगेपछि ब्लड प्रेसर देखा पर्छ, कोखाहरु सुन्निएर आउँछ। नेपालमा पनि थुप्रै बिरामीहरुलाई यो समस्या छ।
लाग्ने अर्को प्रकारको रोग जुन ठ्याक्क मिर्गौलाकै चाहिँ हैन। अर्को प्रणालीको रोग हो तर असर मिर्गौलामा गर्छ। यो रोकथाम वा नियन्त्रण गर्न सकिने र गार्हो हुने दुईखालको हुन्छ। अर्को हुन्छ एक्युट किड्नी इन्जुरी। समयमा उपचार गरेमा यो रोग निको हुन्छ। अर्को क्रोनिक किड्नी डिजिज। यो मधुमेह, उच्च रक्तचाप, पेनकिलर र एन्टिबायोटिकहरुले गर्दा लाग्ने रोग हो।
मिर्गौलामा जोखिम उत्पन्न गर्ने कारकतत्व के के हुन् ?
मैले भनिसकेँ कि मिर्गौलामा लाग्ने रोग मुख्यतया दुई प्रकारका हुन्छन् (अनुवांशिक) र अरु नै प्रणालीको रोगका कारण मिर्गौलामा निम्तने समस्या। रोग लाग्ने कारक विभिन्न हुन सक्छन्।
अत्यधिक पेनकिलरको प्रयोगले गर्दा पनि मिर्गौलाको रोग लाग्न सक्छ। झाडा पखाला, अत्यधिक रक्तश्राव, अरिंगालले टोक्ने, हेपाटाइटिस्, हर्वल औषाधि आदिका कारणले एक्युट किड्नी इन्जुरी हुन्छ। समयमा उपचार गरेमा यो रोग निको हुन्छ। क्रोनिक किड्नी डिजिज मधुमेह, उच्च रक्तचाप, पेनकिलर र एन्टिबायोटिकहरुले गर्दा लाग्ने रोग हो। यो रोग लागेमा मिर्गौला वा अन्य अंगमा ढुंगा भेटिन्छ। मिर्गौलाले काम राम्रो गरेको छ कि छैन भन्ने आधारमा यसलाई पाँच तहमा बाँडिन्छ।
यसको मापन गर्ने आधारलाई ग्लोमर फिल्ट्रेसन रेट (जिएफआर) भनिन्छ। एउटा स्वास्थ्य मानिसको जिएफआर ८० देखि १२० मिलिलिटर प्रति मिनेट हुन्छ। यदि ९० मिलिलिटर प्रति मिनेट छ र मिर्गौलामा कुनै प्याथोलोजिकल ड्यामेज रहेछ भने स्टेज एक हुन्छ। यस्तै ९० देखि ६० एमएल प्रति मिनेट दोश्रो, ६० देखि ३० एमएल प्रति मिनेट तेश्रो, ३० एमएल प्रति मिनेट देखि १५ एमएल प्रति मिनेट चौँथो र १५ एमएल प्रति मिनेट भन्दा कम भएमा स्टेज् पाँच हुन्छ। जिएफआर १० एमएल प्रति मिनेट भन्दा कम भएमा कि डाइलासिस कि मिर्गौला प्रत्यारोपण चाहिन्छ भन्ने बुझ्छौँ।
मिर्गौलामा रोग लाग्नबाट कसरी बच्ने ?
उच्च रक्तचाप, युरिक एसिड, किड्नीमा ढुंगा भएमा रोक्न वा जोखिम कम गर्न सकिन्छ।
एकतिहाइलाई ग्लोमर्लो नेफ्राइटिस् हुन्छ। उनीहरुलाई जोगाउन सकिन्न। इन्फेक्सन कम गरेर जोगाउन चाहिँ सकिन्छ। उदाहरणका लागि कसैकसैको मिर्गौलाको आयु १० देखि १५ वर्षसम्म बढाउन सकिन्छ। तर रोग लाग्नै नदिनु वा जोखिमबाट बच्नु उत्तम हो।