किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु र घाइते हुने सबै जनाको पहिचान खुलेको छ । उक्त बस दुर्घटनामा मृत्यु हुने १४ र घाइते पाँच जनाको पहिचान खुलेको प्रतिनिधिसभा सदस्य एवं सङ्खुवासभाका संघीय संसद राजेन्द्र गौतमले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
उनले जारी गरेको विज्ञप्तिअनुसार मृत्यु हुनेमा मादी–५ का ४५ वर्षीय दीपक दाहाल, ५५ वर्षीय भवानीप्रसाद दाहाल, मादी– ४ का दलबहादुर कार्की, मादी– ६ की सीता बिक, इन्द्रबहादुर अधिकारी, सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–४ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी– ६ की अञ्जना बडुवाल, मादी– ५ का श्याम शेर्पा, मादी– ४ का आइतबहादुर तामाङ, मादी– ४ की सविता कार्की, सुदिप घिसिङ, सक्षिा योञ्जन र दिक्षा बडुवाल रहेका छन् ।
त्यसैगरी घाइते हुनेमा मादी– ४ का डम्बर बहादुर कार्की, सुवास तामाङ, करिप्मा तामाङ, मादी– ६ की तुलसा बडुवाल र सोलुखुम्बुकी युका पोखरेल शिक्षिका रहेको विज्ञप्तिमा जनाइएको छ ।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो । बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।