कालिकोट । नेपालको कानूनले २० वर्ष नपुगी विवाह गर्न बन्देज लगाएको छ, तर बादी गाउँकी सन्ती (नाम परिवर्तन) १५ वर्षमै आमा बनेकी छन् । ‘बाल विवाह गर्न हुन्न भन्ने तालिमै लिएकी थिएँ’ सन्ती भन्छिन्,’ तर के गर्नु, खान लाउनकै लागि विवाह गर्नुपर्यो ।’
आफूजस्तै किशोरीले राम्रो लगाएको मीठो खाएको देख्दा विवाह गर्ने रहर जागेको बताउँछिन् सन्ती । ‘पढ्ने, लेख्ने र जागिर खाने मन मलाई पनि थियो’, सन्ती भन्छिन्, ‘तर विवाह गरेपछि सबैबाट बन्द भएँ ।’
उनी सदरमुकामकै एउटा होटलमा श्रम गरिरहेकी छन् । श्रीमान रोजगारीका लागि भारतमा रहेको उनले बताइन् ।कालिकोटमा अझै पनि बाल विवाह, छाउपडि, जातीय छुवाछुतजस्ता कुप्रथा छ ।
अहिले पनि महिनावारी हुँदा छाउपडि बस्ने गरेको सन्ती बताउँछिन् । शनिबार सन्ती छाउगोठमै थिइन् । मन भएर पनि कुप्रथा तोड्न नसकेकोमा उनी दुःखी छन् । वादी समुदाय कर्णाली राजमार्ग आसपासमा गिट्टी कुटेर जीवन बिताउदै आएका छन् ।
वादी समुदायमा बालकदेखि वृद्धसम्म गिट्टी कुट्ने र होटलमा काम गर्ने गर्छन । सरकारले आफ्ना लागि केही नगरेको उनीहरु बताउँछन् । जिल्लाको वादी बस्तीमा ११ घरधुरीका ४६ को बसोबास छ । जसमध्ये १९ बालबालिका छन्, उनीहरु अधिकांश विद्यालय जाँदैनन् । केहीको सन्तीको झैं सानैमा विवाह हुने गरेको छ ।
स्थानीय सरकार वादी समुदायको यो समस्या सुल्झाउने योजनामा भएको अधिकारीहरु बताउँछन् । ‘उहाँहरुको घर बनाउने र जीवनस्तर सुधार्ने अनेक तालिम दिने योजना बनेको छ’, खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले भने, ‘यसका लागि ६ लाख रुपैयाँ विनियोजन पनि भइसकेको छ ।’