एजेन्सी । हिँड्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भनेर सबैलाई थाहा छ । नियमित हिँड्नु पनि एक किसिमको व्यायाम हो, जुन कुनै पनि मानिसले सजिलै गर्न सक्छ। नियमित हिँड्नु शारीरिक मात्र नभई मानसिक स्वास्थ्यका लागि समेत राम्रो हुन्छ । नियमित हिँड्ने मानिसमा मृत्युको जोखिम पनि कम हुने अध्ययनले देखाएको छ।
अमेरिकाको युनिभर्सिटी अफ मासाचुसेट्सका वैज्ञानिकले चार महाद्विपका ५० हजार मानिसमा भएको १५ अध्ययनको विश्लेषण गरेका छन् । सो अध्ययनको विश्लेषणबाट दैनिक पैदल हिँड्नाले स्वास्थ्य राम्रो हुने र मानिसको उमेर पनि लामो हुने पत्ता लागेको छ । ५० हजार मानिसलाई चार समूहमा विभाजन गरिएको थियो ।
पहिलो समूह औसत तीन हजार पाँच सय पाइला, दोस्रो समूह पाँच हजार आठ सय पाइला, तेस्रो सात हजार आठ सय र चौथोमा १० हजार नौ पाइला हिँड्ने गर्थे। सर्वाधिक सक्रिय रहेको समूहमा मृत्युको जोखिम ४० देखि ५३ प्रतिशतसम्म कम भएको अनुसन्धानकर्ताहरूले बताए । सो अध्ययन लानसेन्ट पब्लिक हेल्थ जर्नलमा प्रकाशित गरिएको छ ।
वैज्ञानिकहरूका अनुसार स्वस्थ रहनका लागि प्रत्येक दिन १० हजार पाइला हिँड्नु आवश्यक हुँदैन । ६० वर्ष भन्दा कम उमेरका मानिस आठ देखि १० हजार र ६० वर्षभन्दा बढी उमेरका मानिसले ६ देखि आठ हजार पाइला हिँड्नाले पनि त्यत्तिकै फाइदा हुने दैनिक भास्करमा उल्लेख छ ।
अनुसन्धानको नतिजाले हिँड्ने गती र लामो उमेरसँग सम्बन्धित नभएको देखाएको युनिभर्सिटी अफ मासाचुसेट्स एमहस्र्ट फिजिकल एक्टिभिटी इमिडेमियोलोजिस्ट अमान्डा पालुच बताउँछिन् ।
छिटो वा विस्तारै हिँड्नुभन्दा पनि पाइलाको सङ्ख्या महत्वपूर्ण हुने हुँदा दैनिक जति धेरै हिँड्नु हुन्छ मृत्युको खतरा पनि त्यत्तिकै कम हुने उनको भनाइ छ ।