काठमाडौं ।मनमोहन मेमोरियल सामुदायिक अस्पताल तथा टिचिङ अस्पतालको स्थापना २०७० साल असारमा भएको हो ।सुरुवातको समयमा १०० बेड संख्याबाट स्थापना भएको यस अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट ३०० बेड संख्या सञ्चालनको अनुमती पाइसकेको छ ।
अस्पतालमा मेडिसिन, सर्जरी , गाइनो, पेरियाट्रिक,साइक्याट्रिक्स लगायतका विभागहरु रहे पनि न्यूरो सर्जरी सेवा भने जनशक्ति अभावका कारण रोकिएको अस्पतालका निर्देशक डा.केदार सेन्चुरी बताउँछन् ।
यहाँ एमआरआई बाहेकका सबै प्रकारका इन्भेस्टिकेसन सेवा रहेको छ । सबै प्रकारको ल्याब परीक्षणको सेवा प्रदान गर्दै आइरहेको अस्पतालले कोरोना महामारीको पहिलो लहरदेखि नै पीसीआर परीक्षण तथा कोरोना बिरामीहरुको उपचार गर्दै आइरहेको छ । नेफ्रोलोजी सेवामा अस्पतालले ६ बेड संख्यामा डायलासिस् सेवा दिदैं आइरहेको छ ।यस सेवालाई विस्तार गर्दै अस्पतालले निकट भविष्यमा नै ७ वटा डायलासिस् मेसिन थप्ने योजना बनाएको छ भने मृगौला प्रत्यारोपण सेवा समेत सुरु गर्ने तयारी अस्पतालले गर्दैछ ।
यसै वर्षमा अस्पतालले एमआरआई मेसिन खरिद गर्न लागेको डा. सेन्चुरी बताउँछन् । कूल २८ रोपनी क्षेत्रफलमा फैलिएको यस अस्पताल मा ३०० बेड क्षमताका लागि आवश्यक संरचना रहेको छ । कालान्तरमा अस्पताललाई ७०० बेडमा विस्तार गर्ने योजना रहेको डा.सेन्चुरी सुनाउँछन्।
कोरोना महामारी सुरु हुनु अगाडि अस्पतालमा दैनिक ८ सय देखी ९ सयसम्म बिरामी आउने गरेको उक्त संख्या घटेर ३ सय देखी ४ सय पुगेको डा.सेन्चुरी बताउँछन् । दैनिक रुपमा अस्पतालले १० वटा सर्जरी गर्दै आइरहेको छ । सामुदायिक अस्पतालको हैसियतमा सञ्चालित भएकोले यस अस्पतालले उपचार बापत लिने शुल्क निजी अस्पतालको तुलनामा सस्तो छ भने सरकारीको तुलनामा केही महँगो भएको उनी बताउँछन् । सामान्य स्वास्थ्य परीक्षणका लागि आउने बिरामीले १०० रुपैयाको टिकट काट्नुपर्ने छ ।
कोरोना महामारीको सुरुवातसँगै अस्पतालले कोरोना बिरामीको उपचारमा जनशक्ति परिचालन गर्दै आइरहेको छ । शल्यक्रिया गर्नुपर्ने कोरोनाका बिरामीका लागि अस्पतालमा छुटै आइसियूको व्यवस्था पनि रहेको छ । करिब १४ विभागद्वारा सेवा दिइरहेको अस्पतालको अर्थाेपेडिक सेवा अन्य भन्दा पनि अब्बल रहेको डा.सेन्चुरीको दाबी छ ।
कार्डियोलोजीको सेवाका लागि आवश्यक पर्ने क्याथ ल्याबको व्यवस्था नहुनुका कारण अस्पतालले कार्डियो सम्बन्धि सामान्य चेकजाँच मात्रै गर्ने तथा आवश्यक परेको अवस्थामा बिरामी रिफर गर्दै आइरहेको छ ।
अस्पतालमा सबै प्रकारका गरि ४३२ जनशक्ति रहेका छन् । जसमा ७४ जना डाक्टर ,४२ जना विशेषज्ञ,नर्सिङतर्फ १३९ ,परामेडिक्स ५९ जना रहेका छन् । मनमोहन अस्पताल सामुदायिक अस्पताल भएकोले यहाँका सेवामा निम्न स्तरका मानिसहरुको पहुँच पुग्ने तथा विभिन्न प्रकारका आकर्षक छुटको व्यवस्थाका कारण यस अस्पताल बिरामीको रोजाइमा पर्ने गरेको डा.सेन्चुरीको दाबी छ ।