एजेन्सी । हामीले अनुभव गरेकै छौं, गर्मी बढेसँगै पखला लाग्छ, खानेकुरा पच्दैन, फूड प्वोइजन हुन्छ । यहिबेला हो, छालाको संक्रमणदेखि टाउको दुख्नेसम्मको समस्या हुने । गर्मीमा शरीर आलस्य हुन्छ। थकाई लाग्छ । काम गर्न जाँगर चल्दैन । अर्कोतिर झिँगा फैलने, लामखुट्टेले टोक्ने, साङ्लाले दुख दिने पनि गर्मी याममै हो।
यद्यपी यो मौसमको खराबी होइन, हामीले मौसम अनुसार आफुलाई तयार राख्न नसकेका मात्र हौं । गर्मी-जाडो प्राकृतिक चक्र हो । यो बर्षौदेखि निरन्तर र नियमित छ । अतः गर्मीमा पनि आफुलाई कसरी फिट एन्ड फाइन राख्ने भन्ने कुरा हाम्रो आफ्नै हातमा छ ।
के गर्ने ?
गर्मी याममा लाग्नसक्ने संभावित रोगहरुबाट छुटकारा पाउनका लागि केही सतर्कता अपनाउन सकिन्छ । यसलाई बुँदागत रुपमै उल्लेख गरौं ।
१. पर्याप्त पानी वा झोलयुक्त पदार्थ पिउने । किनभने गर्मीमा बढी पसिना बग्ने भएकाले शरीप्रमा पानीको मात्रा अपुग हुन्छ ।
२. मौसमी सब्जी, फलफूलको सेवन गरौं । सडेगलेको, बासी, जथाभावी राखिएको खानेकुराबाट शरीरमा रोगको संक्रमण हुनसक्छ ।
३. सकेसम्म घर बाहिरको खानेकुरा सेवन नगरौं । फूटपाथको खानेकुरा, जस्तै चटपटे, पानीपुरी, मम, चाउमिन जस्ता खानेकुराले पाचन प्रणालीलाई खराब गर्न सक्छ ।
४. घरबाहिर निस्कदाँ पुरै शरीर ढाक्ने पहिरन लगाउने । यसले गर्दा धुलो धूँवा तथा घामको सोझो किरणबाट छालालाई जोगाउन सकिन्छ ।
५. आँखाको सुरक्षाको लागि सनग्लास प्रयोग गरौं ।