काठमाडौं- यस पटकको नयाँ प्रजातिको महामारी गत सालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केही लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । यस पटक परिवारमा एक जना सङ्क्रमित भएमा सबै सङ्क्रमित हुने अवस्था छ ।
तसर्थ कुनै लक्षण देखिएमा आइसोलेसनमा बस्नुहोला । सङ्क्रमणको शङ्का लागेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । सहेर वा हेरौँ भनेर अलमल नगर्नुहोला । जति छिटो रोग पत्ता लाग्यो, त्यति छिटो उपचार पाउने अवस्था हुन्छ ।
पिसिआर पोजेटिभ आएमा गत साल जस्तो सप्लिमेन्ट (भिटामिन वा इम्युन बुस्टर) खाएर ढुक्क नहुनुहोला । यस पटक छिटो कोभिड निमोनिया हुने भएकोले तुरुन्तै नजिकको कोभिड अस्पतालको फिभर क्लिनिकमा जानुहोला । त्यहाँ चिकित्सकले तपाईँलाई परीक्षण गरेर आवश्यकता अनुसार छातीको एक्स रे, रगतको जाँच तथा सिटि स्क्यान गर्ने सल्लाह दिनुहुन्छ । यदि तपाईँको अवस्था खराब छ भने उहाँहरुले औषधि वा भर्नाको लागि सल्लाह दिनुहुनेछ । उहाँहरूको सल्लाह अक्षरशः पालना गर्नुहोला ।
लामो समय ज्वरो आयो, खोकी लाग्यो, सास फेर्न गाह्रो भयो, खाना खान गाह्रो भयो वा अक्सिजनको स्तर ९४ भन्दा तल भइरह्यो भने घरमा नबस्नुहोला । यो अवस्थामा तपाईँलाई छातीमा सङ्क्रमण भएको बुझ्न सकिन्छ । जति छिटो अस्पताल पुग्यो त्यति छिटो भर्ना हुन् नपर्ने एवम् सजिलोसँग निको हुने अवस्था हुन्छ ।
गत साल सङ्क्रमण भएका वा यो साल खोप लगाएका व्यक्तिलाई सङ्क्रमण हुनसक्छ | प्रजाति फरक भएकोले गाह्रो हुन सक्छ । मैले खोप लगाएको छु वा पोहोरको एन्टिबडीले काम गर्छ भनेर लापरबाही नगर्नुहोला । अप्ठ्यारो भए तुरुन्त अस्पताल जानुहोला ।
बालबालिका तथा युवालाई केही हुँदैन भनेर घरमा नबस्नुहोला । यस पटक बालबालिका र युवाको सङ्क्रमण दर, गम्भीर हुने दर तथा मृत्युदर गत सालको भन्दा धेरै छ ।
अस्पताल जाने बेलासम्म घोप्टो परेर सुत्नु भयो भने अक्सिजनको स्तर केही बढ्दछ । तसर्थ पेटको बलमा घोप्टो परेर सुत्नुहोला ।
अस्पताल प्याक छन् भनेर नआत्तिनुहोला । अस्पताल जाँदैमा सबै भर्ना हुनु पर्दैन । प्याक भएका अस्पतालले अस्पताल बाहिर समेत अक्सिजन दिएर उपचार गरिरहेका छन् ।
चिकित्सकको सल्लाह बिना आफै अक्सिजन लगाएर घरमा नबस्नुहोला । अक्सिजन उपचार हैन । निमोनिया वा अन्य छातीको सङ्क्रमणको औषधि चलाउँदै अक्सिजन लगाउनुपर्छ । अक्सिजनको मात्रा चिकित्सकको सल्लाह अनुसार मात्र थपघट गर्नुपर्छ ।
औषधि उपचार प्रत्येक व्यक्तिको फरक हुनसक्छ । एक जनालाई निको भएको औषधिले अर्को व्यक्तिलाई निको नहुन सक्छ । तसर्थ स्वास्थ्यकर्मी बाहेकका व्यक्तिले सिफारिस गरेको औषधि सेवन नगर्नुहोला | कुनै पनि औषधिले कोरोना च्वाट्ट निको हुने वा लाग्न नदिने कुरा गर्छ भने त्यो गलत हो ।
प्रतिरोध क्षमता बढाउनको लागि जथाभाबी आयुर्वेद औषधि नखानुहोला । सम्बन्धित चिकित्सक तथा स्वास्थ्यकर्मीको सिफारिस अनुसार मात्र आयुर्वेद औषधि सेवन गर्नुहोला । आयुर्वेद औषधिले कोभिड निको हुँदैन । तपाइएको स्टामिना बढाउँछ । यस्तो बेला सबै चिकित्सा पद्धतिको एकीकृत उपचार प्रभावकारी हुन्छ ।
यस पटकको सङ्क्रमणले निकै छिटो फोक्सोमा असर गर्ने किसिमको छ । ४ – ६ घण्टामा निकै बढी असर गर्न सक्छ | तसर्थ भोलि अस्पताल जाउँला भनेर नबस्नुहोला । निको भएका सङ्क्रमितका कुरा सुन्नुहोला ।
कुनै पनि चिकित्सकले औषधि चलाएको बेला पनि भित्रभित्रै असर हुनसक्छ । यो भाइरल सङ्क्रमण भएको हुँदा एन्टिबायोटिकको भर पर्नु हुँदैन । यस्तो अवस्थामा एक पटक छातीको एक्स रे वा सिटि स्क्यान गर्नु सुरक्षित हुन्छ ।
अस्पतालमा गम्भीर बिरामीप्रति चिकित्सकको ध्यान बढी हुन्छ । तसर्थ नआत्तिनुहोला ।
उपचार पश्चात् पिसिआर नेगेटिभ आए पनि कोभिडले तपाईँका विभिन्न अंगमा असर गरेको हुनसक्छ । चिकित्सकको सल्लाह अनुसार यसको पनि उपचार गरेर स्वास्थ्य लाभ गर्नुपर्ने हुन्छ ।
( सरकारले जारी गरेका सूचना, सतर्कता तथा जनस्वास्थ्यका मापदण्ड पालनाबाट हामी सङ्क्रमणबाट बच्नेछौँ । कृपया पटक्कै लापरबाही नगर्नुहोला । हामीले आफू, परिवार तथा समाजलाई सङ्क्रमण हुन् नदिनको लागि सतर्क बनौँ । सतर्क भएमा हामी अस्पताल जानु पर्दैन । )