काठमाडाैं । तुलसी जस्तै बहुगुणपयाेगी हाे पुदिना । हरियाे गाढा स–साना पात हुने पुदिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको छ । पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ । बाह्रै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा तथा सुकाएर दुवै रूपमा प्रयोग गर्न सकिन्छ ।
आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको छ । यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा लाभदायक छ । मुखको दुर्गन्ध हटाउन वा मुखभित्रको घाउको उपचार गर्न पुदिना उपयोगी हाे ।
कुन राेगमा पुदिना खाने ?
अपच : दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५/६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ ।
पेट फुल्ने : पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १–२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ ।
क्यान्सर : पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ । दिनको १०/१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २–३ पटक केही महिनासम्म खुवाउन सकिन्छ ।
काटेको घाउमा : कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ ।
मुर्छा : सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ ।
ज्वरो : पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घटद्छ । शरीरमा शितलता प्रदान गर्छ ।
पेट दुखाइ : पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ ।
दम र खोकी : पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ । घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ ।