बालबालिकामा क्यान्सर हुने कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। डिएनएमा नै ड्यामेज भएर क्यान्सर हुने हो। तर डिएनए ड्यामेज हुनुको कारण के हो भन्न सकिने अवस्था पनि छैन। डिएनएमा ड्यामेज भन्नुको अर्थ वंशाणुगत पनि होइन, तर सानो उमेरमै क्यान्सर हुनसक्छ।
वयस्क व्यक्तिमा हुने विभिन्न खालका क्यान्सर रोकथाम गर्न सकिन्छ। तर बालबालिकामा हुने क्यान्सर रोकथाम गर्न सकिँदैन। त्यसैले बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्र उपाय भनेको छिटो पत्ता लगाउने र छिटो उपचार गर्ने नै हो। बालबालिकामा हुने क्यान्सरको जति छिटो उपचार गर्यो, त्यति नै छिटो निको हुने सम्भावना रहन्छ।
बालबालिकामा हुने क्यान्सर पनि विभिन्न किसिमका हुन्छन्। तीमध्ये सबैभन्दा धेरै देखिएको भनेको रक्तक्यान्सर नै हो। विकसित देशहरुमा रक्तक्यान्सर भएका ९० प्रतिशत बालबालिका निको हुन्छन्। तर अल्पविकसित देशहरुमा भने यस्तो अवस्था छैन।
नेपालमा रक्तक्यान्सरका बालबालिका ६० देखि ७० प्रतिशतसम्म निको हुने गरेका छन्। ठूलो मान्छेमा हुने क्यान्सर र बालबालिकाको क्यान्सरमा फरक छ। बालबालिकालाई क्यान्सर भएमा निको हुने सम्भावना ठूला व्यक्तिहरुमा भन्दा बढी हुन्छ।
क्यान्सरको उपचार सफल भएका बालबालिका ६०/७० वर्षसम्म बाँच्न सक्छन्। त्यसैले बालबालिकाकको क्यान्सरको उपचार खर्चमा सहयोग गर्न राज्यको लागि पनि राम्रो हुन्छ।
राज्यले बालबालिकाको क्यान्सरको उपचार खर्चमा सहयोग गर्दा उसको पारिवारिक समस्या कम हुन्छ र एउटा क्यान्सर लागेका बालबालिकाले उपचारपछि राम्रोसँग आफ्नो जीवन अगाडि बढाउन सक्छन्।
नेपालमा पछिल्लो समय अस्पतालमा आउने क्यान्सरका बिरामीको संख्या बढेको छ। ६ वर्षअघि कान्ति बाल अस्पतालमा एक वर्षमा ४४ जना मात्र उपचारका लागि आउँथे। अहिले एक वर्षमा ६० देखि ९० जनासम्म क्यान्सर डाइग्नोसिस हुन्छ।
बालबालिकामा देखिने क्यान्सरको लक्षण क्यान्सरको प्रकार अनुसार फरक हुन्छ। बालबालिकामा मुख्य गरी रक्तक्यान्सर नै धेरै हुन्छ। कान्ति बाल अस्पतालमा एक्युट लिम्फोसाइटिक ल्युकेमिया (एएलएल) क्यान्सर (एक किसिमको रक्तक्यान्सर) ३५ प्रतिशत छन्। रगतसँग सम्बन्धित सबै क्यान्सर जोड्दा क्यान्सर ५० प्रतिशतजति हुन आउँछ।
रक्तक्यान्सर भएका बालबालिकालाई रगत बग्ने, रगतको कमीले जीउ सेतो हुँदै जाने, रक्तश्राव हुने, निलो डाम देखिने, ज्वरो आउने, जिउ दुख्ने जस्ता लक्षण देखिन्छन्। यस्तै रगतसँग सम्बन्धित क्यान्सर भएका बालबालिकामा शरीरमा गिर्खाहरु देखिने लक्षण पनि देखिन्छन्।
यस्तै अन्य अंगमा भएको क्यान्सर अनुसार लक्षण पनि फरक हुन्छ। जस्तैः आमाले बालबालिकालाई तेल लगाइदिँदा पेटमा डल्लाडुल्ली छ, आँखाको नानीभित्र सेतो देखियो भने क्यान्सर लागेको हुनसक्छ।
बालबालिकामा हुने रक्तक्यान्सरको उपचार विशेषगरी ८ महिना इन्टेन्सिभ चरण अर्थात् अस्पतालमै भर्ना गरेर वा नियमित अस्पतालमै आएर कडा खालका फरक–फरक औषधि तथा केमोथेरापी गर्नुपर्ने हुन्छ। केमोथेरापीले रोगप्रतिरोधात्मक क्षमता कमजोर बनाउँछ। त्यसले गर्दा हुने संक्रमणको पनि उपचार गर्नुपर्ने हुन्छ। रगत कम हुने भएकाले रगत दिनुपर्ने हुन्छ।
यस्तो किसिमको उपचार बिरामीलाई अलि गाह्रो पनि हुन्छ। धेरै पटकसम्म अस्पतालमै भर्ना गर्नुपर्ने अवस्था पनि हुनसक्छ। त्यसैले रक्तक्यान्सर भएका बालबालिकालाई सुरुवाती चरणको ६ देखि ८ महिना चिकित्सकको विशेष निगरानीमा राखेरै उपचार गर्नुपर्ने हुन्छ।
८ महिनाको अवधिपछि मेन्टेनस चरण सुरुवात हुन्छ। यो समयमा एक महिनामा एक पटक अस्पताल आए पुग्छ। दोस्रो चरणमा गरिने उपचार विधिमा कम कडा खालको किमो थेरापी दिइन्छ। दोस्रो चरणको उपचाररत अवस्थामा बालबालिका स्कुल जान पनि सक्ने अवस्थामै हुन्छन्। त्यसैले हामीले यस्ता बिरामीलाई एक महिनामा एक पटक अस्पताल आउने र अन्य समयमा घरमै बसेर उपचार गर्न सकिने व्यवस्था गरेका छौं।
रक्त क्यान्सरको उपचार पूरा हुन छोरीमा करिब २ वर्ष र छोरामा करिब ३ वर्ष समय लाग्छ। छोरामा उपचारका लागि ३ वर्ष लाग्नुको कारण छोराको अण्डकोषमा क्यान्सरका कोषिकाहरु सुषुप्त अवस्थामा बसेको हुनसक्छ। त्यसैले छोरालाई उपचार गर्न समय बढी लाग्छ।
तर पछिल्लो समय यो विषयमा नयाँ रिसर्चहरु पनि भइरहेका छन्। अब छोरा र छोरी दुवैमा रक्तक्यान्सरको उपचार गर्ने समयाअवधि बराबर हुन्छ कि भन्ने विषयमा चिकित्सा क्षेत्रमा बहस पनि सुरु भएको छ। तर हालसम्म क्यान्सर भएको अवस्थामा छोरीको २ वर्ष र छोराको तीन वर्षसम्म उपचार गरिँदै आएको छ।
क्यान्सरको उपचार सुरु गरेको ८ महिनापछि बालबालिकाको अन्य विकास र सामाजिक अवस्था सामान्य बनाउन र शैक्षिक गतिविधिलाई निरन्तरता दिन सकिन्छ।
क्यान्सर निको भइसकेका बालबालिकालाई हामी नियमित फलोअपमा बोलाउने गरिन्छ। सामान्यतयाः क्यान्सर निको भएको ५ वर्षसम्म हरेक ६/६ महिनामा फलोअपका लागि बोलाउँछौं। ५ वर्षपछि भने वर्षमा एक पटक बोलाउँछौं।
नेपालमा वार्षिक १ हजार ५ सय जना बालबालिकामा क्यान्सर हुने गरेको अनुमान छ। तर अझै पनि करिब ५ सय जनाभन्दा बढी उपचारको पहुँचमा आउन सकेका छैनन्। बाल क्यान्सरमा सरकारको ध्यान नपुग्दा क्यान्सर भएका बालबालिकाका अभिभावक आर्थिक संकटमा बाँचिरहेका छन्।
उपत्यका बाहिरका बिरामी बालबालिकालाई ८ महिनासम्म काठमाडौंमा बसेर उपचार गराउन सामान्य परिवारले सक्ने अवस्था छैन। सरकारले केही सहुलियत दिएको छ तर त्यो पर्याप्त छैन।
विश्व स्वास्थ्य संगठनले पनि बाल क्यान्सरको क्षेत्रमा राज्यले गर्ने लगानीले देशलाई आर्थिक रुपमा पनि फाइदा दिने कुरा पुष्टि गरेको छ। त्यसैले राज्यले क्यान्सर भएका बालबालिकालाई उपचारमा सहुलियत दिँदा लोककल्याणकारी भूमिका मात्र पूरा हुँदैंन, भोलि क्यान्सर निको भएका बालबालिकाले देशलाई आर्थिक फाइदा हुने काम गर्न सक्छन्। सरकारले अहिलेसम्म बाल क्यान्सरको क्षेत्रलाई प्राथमिकता दिएको देखिँदैन तर अब प्राथमिकतामा राख्न आवश्यक भइसकेको छ।