काठमाडौं - कोरोना भाइरस रोग (कोभिड १९) ले अहिले विश्वमा त्राहीमानको स्थिति श्रृजना गरिदिएको छ ।
कोरोना भाइरसको कारणले विश्वमा आपतकालिन अवस्था ल्याएको छ । यसले सिधै फोक्सोमा असर गर्दछ र स्वास प्रस्वासको समस्या ल्याउँछ । तर कोरोनाको संक्रमण हुँदैमा त्यति डराउनु पर्दैन तर सावधान र सतर्क रहनु भने पर्छ ।
यसको संक्रमणले धेरैमा स्वासप्रस्वासको सामान्यदेखि मध्यम खालका ज्वरो, सुख्खा खोकी, खकार सहितको खोकी र स्वास फेर्ने गाह्रो हुने, जोर्नीको दुखाई, टाउको दुखाई, कामजोरी, उल्टी, नाक बन्द हुने, पखाला लाग्ने जस्ता लक्षणहरु देखिएको पाइन्छ । यो बिना कुनै विशेष उपचार पनि निको हुन्छ । जेष्ठ नागरिक, मुटुको समस्या, मधुमेह, र स्वास प्रस्वासको जीर्ण समस्या र क्यान्सर भएकाहरुमा मात्र यो रोगले जतिलता थपेको विश्व स्वास्थ्य संठनको तथ्थांकमा उल्लेख गरिएको छ ।
यस संक्रमणका कारण १८ वर्ष मुनिका व्यतिmहरुको मृत्युदर ०.५ प्रतिशत भन्दा कम छ भने ८० वर्ष भन्दा माथिकाहरुमा १३ प्रतिशत रहेको छ ।
यसबाट बच्ने मुख्य उपाय आफ्नो रोग प्रतिरोधात्मक शक्तिलाई बलियो पार्नु हो । त्यसैले डर त्रासमा रहनुभन्दा रोग प्रतिरोधात्मक शक्तिलाई बलियो बनाउनुपर्छ प्राकृतिक चिकित्सा र योगका अभ्यासहरु र प्रकृतिका नियम कानुनलाई अक्षरस पालना गर्ने हो भने यो संक्रमणबाट बच्न सकिन्छ ।
प्राकृतिक नियमहरु यस्ता छन् ।
घाममा बस्ने
घाम प्राकृतिक र प्रबल किटनासक तत्व हो । सन् १९१८ मा इन्फ्लुएन्जा अमेरिकाको बोस्टोनमा फैलिंदा इन्फ्लुएन्जा प्रभावित उपचार गर्ने इमर्जेन्सी अस्पतालका बिरामीरुलाई नियमित रुपमा घाम स्नान र स्वच्छ हावा स्नान दिइएको थियो । जसका कारणले पनि मर्नेहरुको संख्या ४० बाट १३ प्रतिशतमा झरेको थियो ।
जतिबेला टि.बी रोगको कुनै उपचार थिएन । त्यसबेला पनि घामस्नान नै प्रमुख उपचार थियो । घाममा बस्दा शरीरले प्रशस्त भिटामिन डि को निर्माण गर्दछ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो पार्छ । साथै घामले स्वास प्रस्वासको रोग, उच्च रक्तचाप, मधुमेह आदिमा पनि निकै सुधार ल्याउँछ ।
स्वच्छ हावामा रहने
घरमा बस्दा स्वच्छ हावाको प्रभाव रहेको स्थानमा रहने । स्वच्छ हावा पनि प्राकृतिक किटनासक, एन्टिब्याक्टेरियल, एन्टिभाइरलको रुपमा काम गर्दछ । स्वच्छ हावामा ओपन एयर फ्याक्टर भन्ने तत्व हुन्छ । जसले हावाको माध्यमबाट फैलिने खुला वायु कारक तत्वका कारण कारक किटाणुहरु, ब्याक्टेरियाहरु इन्फ्लुऐन्जा भाइरसहरु मार्न सक्छ ।
स्वस्थ खानेकुरा खाने
खानाले शरीर बन्ने हो । खाना नै शरीरको रोग प्रतिरोधात्मक शक्तिको आधार हो । त्यसैले रोग प्रतिरोधात्मक शक्ति बढाउने खालका खानाहरु प्रशस्त खानुपर्छ । मौसमी ताजा फलफुल, सलाद, स्प्राउट्स, हरियो सागसब्जी, ड्राइफुड्सहरुको सेवनमा वृद्धि गर्नुपर्छ ।
सुन्तला, मौसमी, गोलभेंडा, भुँइकटहर, कागती, अमला आदि भिटामिन सि को मुख्य स्रोतहरु हुन ।
गाँजार, हरियो साग सब्जी भिटामिन ए का मुख्य स्रोतहरु हुन ।
ड्राइफुड्सहरु, राम्रो शुद्ध तोरीको तेल भिटामिन इ का स्रोतहरु हन् ।
यी भिटामिनहरु र भिटामिन बि ग्रुप हाम्रो इम्युन प्रणालिलाई नभइ नहुने तत्वहरु हुन् । आलमन्ड र बदाम मिसाएर खाँदा सबै खालको भिटामिन बि को परिपुर्ति हुन्छ । साथै सुगर भएकाहरुले करेला, मेथि, चिप्ले भिन्डीको जस्ता तरकारी खानुपर्छ । उच्च रक्तचाप हुने हरुले हिमालियन नुनको प्रयोग गर्नुपर्छ ।
अस्वस्थकर खाद्यान्न नखाने
मैदाबाट बनेका खाद्यान्न, चिनी, चिया, कफी, फास्ट फुड्स, मासु र मासुजन्य खाद्यान्न, अत्यधिक नुन, डिप फ्राइड, कोल्ड सफ्ट ड्रिङ्कसले रोग प्रतिरोधात्मक शक्तिलाई कमजोर पार्दछ । शरीरको सिस्टमलाई विगारीदिन्छ । त्यसैले यी खानेकुराहरु त्याग्नुपर्छ ।
मद्यपान र धुम्रपान नगर्ने
कोरोना भाइरसले सिधै फोक्सोमा असर पार्ने भएकाले मद्यपान धुम्रपान नगरेको राम्रो हो ।
भोक लागेको बेला मात्र खाने
भोक नलागेको बेला खानु भनेको शरीरको विरुद्धमा जानु हो । शरीरलाई जबर्जस्ती अत्यधिक भार दिनु हो । शरीरको शुद्धिकरण प्रकृयामा वाधा उत्पन्न गर्नु हो । यसले गर्दा रोग प्रतिरोधात्मक क्षमतालाई सिधै असर गर्दछ ।
रातीको खाना छिटो खाने
शरीर रातको साढे ९ बजेदेखि निस्तेज हुन थाल्छ । सत्ने मोडमा जान्छ । शरीर शुद्धिकरणको प्रकृया चल्न थाल्छ । अबेर खाना खानु भनेको यी कार्यहरुमा वाधा उत्पन्न गर्नु हो । त्यसैले राती साढे ७ बजे भित्र हलुका खाना खानुपर्छ । जसका कारण साढे ९ बजेसम्म खाना पच्छ र शरीर शुद्धिकरणको स्थितिमा जान्छ ।
पानी प्रशस्त पिउने
हाम्रो शरीरमा ७२ प्रतिशत पानी हुन्छ । प्रत्येक कोषिकाहरुमा पनि त्यही अनुपातमा पानी हुन्छ । शरीरको हरेक कृयाहरुको आधार पानी नै हो । पानी कम हुनु भनेको रोगलाई निम्ता दिनुसर हो । त्यसैले पानी प्रशस्त पिऔं । दिनमा ३ देखि ४ लिटरसम्म पानी सेवन गरौं । तर खानासंगै पानी पिउनु हुदैँन । प्लास्टिका भाँडामा राखेको पानी, त्यसमा पनि प्लास्टिका भाँडामा राखेको तातो पानी पिउनु हुदैँन ।
समयमै प्रशस्त सुत्ने
कम सुत्नाले र ढिलो सुत्नाले रोग प्रतिरोधात्मक शक्ति निकै कमजोर हुन्छ । साथै अबेरसम्म सुत्नाले पनि इम्युन सिस्टम कमजोर हुन्छ । निद्रा नपुगेमा थाइरोइड, ग्रोथ हर्मोन, प्रजनन हर्मोनहरु लगायत अन्य हर्मोनहरु र शरीरको सिस्टममा गडबडी हुन्छ । शरीरको कोषिकाहरुको डि एन ए विग्रन्छन् । त्यसैले प्रशस्त समयमै सुत्नाले कोरोना विरुद्ध उभिन सकिन्छ ।
योग ध्यान र व्यायाम गर्ने
योग ध्यानले मन शान्त बनाउँछ । डर त्रास न्युन गर्छ । तनाब घटाउँछ । शरीरलाई लचिलो तथा बलियो बनाउँछ । गहिरो आराम प्रदान गर्दछ र रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्दछ । कोरोनाबाट बच्न र लागेमा छिट्टै निको हुन नियमित योग ध्यान र व्यायाम गर्नुपर्छ ।
हात मिलाउने होइन, नमस्ते गर्ने
नमस्ते गर्नाले अन्य व्यक्तिको रोग हामीमा सर्दैन र साथै नमस्कार गर्दा, दुई हात जोडिंदा हाम्रो इम्युन सिस्टम बलियो हुन्छ । दाँया बाँया दिमाग सन्तुलन हुन्छ । शरीर बन्ने पंच महाभूत पृथ्वि, पानी, तेज, वायु र आकाश तत्वहरु बिच सन्तुलन हुन्छ ।
घरेलु जडिबुटी सेवन गर्ने
लसुन, बेसार, अदुवा, तुलसी, प्याज, महले स्वासप्रस्वासका कोषिकाहरुलाई बलियो बनाउँछ । रुघा, खोकी, ज्वरो नास गर्छ । त्यसैले यी तत्वहरुको नियमित सेवन गरौं । लसुन काँचै ५–६ केस्रा खानासंग खाने गरौँ। बेसार चियाको रुपमा दिनको २–३ गिलास पिऔं । अदुवालाई रस बनाएर वा काँचै चपाएर खाऔं । तुलसी काँचै रसको रुपमा वा चियाको रुपमा पिउन सकिन्छ । प्याज र महलाई मिसाएर खान सकिन्छ । लसुन र अदुवाको रस १–२ चम्चामा, मह २ चम्चा मिसाएर खान सकिन्छ । मह त्यतिकै पानीसंग पनि खान सकिन्छ ।
(डा.रविनलाल श्रेष्ठ विषेशज्ञ प्राकृतिक चिकित्सक अयांष योग नेचर क्योर हस्पिटलमा आबद्ध छन्)