काठमाडौंं । मधेस प्रदेशको राजधानी जनकपुरमा रहेको आयुर्वेद औषधालयहरूमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
आयुर्वेदप्रतिको विश्वास बढ्दै जानु र औषधालयको स्तरोन्नति हुनुजस्ता कारणले सेवा लिन आउनेको सङ्ख्या बढेको हो । विगतभन्दा अहिले आएर आयुर्वेदतर्फ सर्वसाधारणको रुचि बढ्न थालेको छ ।
जनकपुर आयुर्वेद औषधालयमा पाँच वर्ष अगाडिसम्म दैनिक १०–२० जना बिरामी उपचारका लागि यहाँ आउने गर्थे । तर, आजभोलि दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेको स्थानीय बताउँछन् ।
औषधालयमा फिजियोथेरापी र मौलिक थेरापीअन्तर्गत पूर्वकर्म, पञ्चकर्म थेरापी गर्न आउने बिरामीको सङ्ख्या धेरै छ । विशेष गरेर हड्डी दुखाइका बिरामीहरू अत्यधिक आउने गरेका छन् । कतिपय व्यक्तिहरू भने अन्य उपचार गराएर रोक निको नभएपछि आयुर्वेदतर्फ आउने गरेका छन् । निको भएपछि गाउँ–गाउँमा प्रचार गरिएकाले समेत अस्पतालमा बिरामीहरू धरै हुुने गरेको अस्पतालका कर्मचारी बताउँछन् ।
घरेलु रूपमा आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरू पनि आजभोलि औषधालय आइपुग्ने गरेका छन् । नागरिकमा पनि आयुर्वेदभन्दा एलोपेथिक औषधिप्रतिको बढी भरोसा थियो । तर पछिल्लो दुई वर्षयता आयुर्वेदप्रति नागरिकको भरोसा बढ्दै गएको छ ।
स्रोत र जनशक्ति अभावले सबै क्षेत्रमा सहज रूपमा औषधि वितरण हुन नसकेको औषधालयको गुनासो छ । प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आयुर्वेद उपचारलाई चुस्त बनाउन सकिने अस्पतालका प्रमुख डा। सीमा झाले बताइन् । उनले अस्पतालको स्तर वृद्धि गरेर प्रादेशिक अस्पतालको रूपमा नै जानुपर्ने आवश्यकता रहेको बताइन् ।
औषधालयमा आउने नागरिकलाई आयुर्वेदिक औषधि, आहारविहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरिरहेको औषधालयले बताउँदै आएको छ । आयुर्वेद पूर्वीय चिकित्सा पद्धति हो । तर, आयुर्वेद चिकित्सा विज्ञानको अध्ययन र अनुसन्धान नहुँदा ओझेलमा पर्ने गरेको छ ।