होली रङहरुको पर्वमा तपाईंले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठूलै स्वास्थ्य समस्या झेल्नुपर्छ। त्यसैले रमाइलो गर्ने क्रममा रङ जथाभावी खेल्दा आँखाको दृष्टि गुम्न सक्छ, कानको जाली फुट्न सक्छ, एलर्जी, दम, छालासम्बन्धी विभिन्न समस्याले सताउन सक्छन्। होली पर्वमा लोला प्रहारले आँखा, कानलाई समस्यामा पार्न सक्छ। अझ फोहोर पानीले लोला हानियो भने त झन् अन्य थुप्रै समस्या निम्तिन सक्छ।
होलीमा उपयोग गरिने रङ, अबिरमा प्रायः खतरनाक रसायन मिसाइएको हुन्छ। त्यसैले रङ वा अबिर मुख, आँखा वा कानमा नपसोस भनेर सचेत हुन जरुरी छ।
होली खेल्दा सबैभन्दा बढी आँखामा रङ जाने पाइन्छ। त्यसले आँखा रातो हुने, पोल्ने, सुन्निने हुन सक्छ। रङले आँखाको कर्निया वा आँखाको सेतो भाग कन्जेक्टाइवालाई नोक्सान पुर्याउँछ। यो सेतो भागमा रङले गर्दा रातोपना र घाउ हुन सक्छ।
कसरी बचाउने?
होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाए रङ/अबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ। टोपी लगाउनुपर्छ। यस्तै, होली खेल्नुअघि शरीरभरि तेल वा मोइस्चराइजर लगाउनु राम्रो हुन्छ। यसरी रङ छालाभित्र जान पाउँदैन।
कपालमा तेल दल्नु पर्छ र नङ काटेर पालिस लगाउँदा पनि कुनै न कुनै नोक्सानीबाट बच्न सकिन्छ। आँखामा रङ वा कुनै रसायन परे तुरुन्त सफा पानीले अर्थात् उमालेर चिसो पारेको खानेपानीले २० देखि ३० मिनेटसम्म धोइरहनुपर्छ। जोडले पानी छयाप्ने गर्नुपर्छ। यदि तपाईंको होलीको रङले कुनै नराम्रो असर परेको खण्डमा डाक्टरसँग सल्लाह लिनु जरुरी छ।