काठमाण्डौ । आज विश्व मुख स्वास्थ्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।हरेक वर्ष मार्च २० का दिन विश्वभर मुख स्वास्थ्यबारे चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ ।
स्पेनको मड्रिडमा भएको डेन्टल कांग्रेसले हरेक वर्ष मुख स्वास्थ्य दिवसका लागि नयाँनयाँ नारा बनाउने गर्छ ।विश्व मुख स्वास्थ्य दिवस २०२२ को नारा 'आफ्नो मुखप्रति गर्व गरौँ' भन्ने रहेको छ।
मुख स्वास्थ्य भन्नाले दाँत, गिजा, जिब्रो, चिउँडो, तालु, गालालगायत मुख वरिपरिका अङ्गलाई बुझिन्छ ।
समयमै उचित ध्यान नदिँदा दाँत तथा मुखका सामान्य समस्याले पनि जटिलता उत्पन्न गर्ने भएकाले मुख स्वास्थ्यप्रति सजग रहन डाक्टरहरुको सुझाव छ ।
नेपालीले मुख गन्हाउने, दाँतबाट रगत आउने, दाँत किराले खानेजस्ता समस्यालाई सामान्य जस्तै मान्ने गरेको पाइन्छ । मुखका समस्याले शरीरका अन्य अङ्गमा पनि रोग लाग्ने गरेको डाक्टर अच्युत खनालले बताउनुभयो । डाक्टरका अनुसार मुटुका रोग, प्रेसर, सुगरलगायतका ६० प्रतिशत रोग मुखको स्याहार नगर्दा लाग्ने गर्छ ।
दाँतको सरसफाइ गर्दा धेरै रोगको जोखिम घटाउन सकिने भएकाले मुख स्वास्थ्यमा विशेष ध्यान दिन आवश्यक छ ।