बैतडी । कुनै बेला तीन जिल्लाको उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा यतिबेला भने, संक्रमणदर ओरालो लाग्दै गएको छ । भारतसँग सीमा जोडिएको यस प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या न्यून छ ।
यो हप्ताको शुक्रबार र आइतबार यस प्रदेशमा संक्रमितको संख्या शून्यमा झरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्य दिनहरुमा पनि संक्रमितको संख्या पाँचभन्दा कम रहेको छ । हप्ताको दोस्रो दिन सोमबार पाँच जना, मंगलबार र बुधबार एक÷एकजना, बिहीबार दुईजनामा संक्रमण पुष्टि भएको थियो ।
भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएसँगै गत माघमा त्यसको प्रभाव यस प्रदेशमा पनि देखिएको थियो । त्यसपछि यहाँका झुलाघाट, पुलघाट, जौलजीवी, गड्डाचौकी र त्रिनगर नाकाबाट फर्किने अधिकांशमा कोरोना भाइरस संक्रमण देखिन थालेको थियो । अहिले भने संक्रमणदर निकै कम रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । उनले भने, ‘विश्वव्यापी रुपमा कोरोना भाइरस संक्रमण घटेको छ, छिमेकी राष्ट्र भारतमा पनि संक्रमणदर न्यून छ, त्यसकै प्रभाव सुदूरपश्चिममा पनि परेको हो ।’
संक्रमणदर घटेको भए पनि जोखिम भने कायमै रहेको उनले बताए । अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली २००५ अनुसार सीमानाकामा परीक्षण कार्य जारी राखिएको जनाइएको छ । जोखिम कायमै रहेकाले यहाँका भारतसँग सीमा जोडिएका सबै नाकाहरुमा स्वास्थ्य चेकजाँचमा कडाइ नै गरिएको कोभिड–१९ सम्पर्क व्यक्ति जोशीले जानकारी दिए।
सीमा नाकामा आवश्यक जनशक्ति परिचालन गरेर परीक्षणको काम निरन्तर रुपमा भइरहेको छ । उनले भने, ‘अहिले न्यून मात्रामा संक्रमण देखिएको भए पनि सीमानाकामै हेल्थ डेस्क स्थापना गरी एन्टीजेन परीक्षणमार्फत परीक्षणको काम भइरहेको छ ।’ पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमाक्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो ।
कोरोना भाइरस संक्रमणदर ओरालो लागेसँगै सुदूरपश्चिमका तीन जिल्लामा संक्रमण शून्य अवश्थामा पुगेको छ । प्रदेशका नौ जिल्लामध्ये डोटी, अछाम र बाजुरामा हाल एकजना पनि कोरोना भाइरस संक्रमणका सक्रिय संक्रमित नरहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । प्रदेशका अन्य जिल्लामा गरी कूल ४० जना सक्रिय संक्रमित छन् । सबैभन्दा बढी कैलालीमा २५, कञ्चनपुरमा नौ, बैतडीमा तीन, दार्चुला, डडेल्धुरा र बझाङमा एक÷एकजना मात्रै सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये दुईजनाको सेती प्रादेशिक अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको छ भने अरू सबै होम आइसोलेशन छन् ।
सुदूरपश्चिमममा हालसम्म ५९ हजार ५९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पाँच लाख २३ हजार ६९९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण देखिएको हो । संक्रमणकै कारण यस प्रदेशमा हालसम्म ६३३ जनाको मृत्यु भइसकेको छ । संक्रमणदर कम भएको भए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न निर्देशनालयले सबैमा आग्रह गरेको छ ।
सम्र्पक व्यक्ति जोशीका अनुसार कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि कोरोना भाइरसविरुद्धको खोप अभियानलाई बढाइएको छ । प्रदेशका सबै स्थानीय तहमा हाल कोरोना भाइरसविरुद्धको खोप अभियान जारी रहेको छ । पहिलो मात्रा लगाएको २८ दिनपछि दोस्रो मात्रा र ६ महिनापछि बुस्टर डोज दिइन लागिएको हो । यसअघि लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरिएको छ ।