काठमाडौं । नेपालमा देखिएको बर्ड फ्लुको सङ्क्रमण विभिन्न १० जिल्लामा फैलिएको छ । पशु सेवा विभागका अनुसार काठमाण्डौ, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, कास्की र पर्सामा बर्ड फ्लु देखिएको हो ।
काठमाडौंको तारकेश्वर र कागेश्वरी मनोहरा तथा भक्तपुरको सूर्यविनायकमा यसअघि देखिएको सङ्क्रमण नियन्त्रण गरे पनि फेरि देखिएको विभागका प्रवक्ता डा. चन्द्र ढकालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म सङ्क्रमण नियन्त्रणमै छ । अरु जिल्लाबाट पनि परीक्षणका लागि नमुना प्राप्त भएका छन् तर त्यसको नतिजा आइसकेको छैन ।
सङ्क्रमण फैलिएका ती जिल्लाका ६५ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ । त्यस्तै १५ हजार किलो दाना र २५ हजार ओटा अण्डा नस्ट गरिएको विभागको तथ्याङ्क छ । पक्षीमा टाउको सुन्निने, सिउर लोति निलो÷कालो हुने र धेरैको सङ्ख्यामा एकैपटक मर्ने जस्ता लक्षणसहित बर्ड फ्लु देखिएको छ ।
छिटो फैलने र मानिसमा समेत सर्ने रोग भएकाले सतर्कता अपनाउन पशु सेवा विभागले आग्रह गरेको छ । साथै पक्षी पालेको ठाउँमा नियमित सरसफाइ गरी निःसङ्क्रमण गर्न, घरपालुवा पक्षीलाई खुला नछोड्न, जङ्गली तथा अन्य चराको सम्पर्कमा आउन नदिन, मरेका पक्षीलाई गहिरो खाल्डो खनेर पुर्न विभागका प्रवक्ता डा. ढकालको सुझाव छ ।