जनकपुर । जिल्लास्थित रामजानकी अस्पतालका चिकित्सकको लापरबाहीका कारण पुनः एक बालकको ज्यान गएको पीडित परिवारले आरोप लगाएको छ ।
जनकपुरधाम–६ का अशरफ राइनका छोरा पाँच वर्षीय आरमिन राइनको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको परिवारजनले आरोप लगाएका हुन् ।
एपेन्डिक्स भएको बालकलाई वास्तविक उपचार नै नगरी तीन दिनसम्म अस्पतालमा राखेका कारण बालकको मृत्यु भएको परिवारजनको आरोप छ । बालकलाई ज्वरो आएपछि अस्पताल ल्याएको र चिकित्सकले विस्तृत जाँच नै नगरी त्यसै भर्ना गरेर राखेको उनको आरोप छ ।
तीन दिनपछि बाहिर जाँच गराउँदा बालकलाई एपेन्डिक्स भएको पत्ता लागेपछि विराटनगर लगिए पनि बालकको मृत्यु भएको थियो । एपेन्डिक्स पत्ता नलगाइ त्यतिकै राख्दा बालकको शरीरभर विष फैलिएको र मृत्यु भएको थियो । यता, अस्पताल प्रशासनले यो घटनाको विषयमा दुवै पक्षलाई राखेर सोमबार छलफल गर्ने भनिए पनि अस्पताल प्रशासनले पीडित पक्षलाई बोलाएर कुनै चासो नराखेपछि द्वन्द्वको अवस्था सिर्जना भएको थियो । पीडित पक्षले न्यायका लागि आवाज उठाएपछि अस्पताल प्रशासनकै एक व्यक्तिले हातपात गरेपछि पीडित पक्षले अस्पतालमा तोडफोडसमेत गरेको छ ।
अस्पताल प्रशासनले छलफलका लागि कुनै पहल नगरेपछि पीडित पक्षले कानुनी रूपमा अगाडि बढ्ने निर्णय गरेको छ । जनकपुरधामस्थित रामजानकी अस्पतालमा बेलाबेलामा चिकित्सकको लापरबाहीका बिरामीको मृत्यु हुने गरेको आरोप लाग्दै आएको छ । यसअघि गएको साउन २२ मा सोही हस्पिटलमा चिकित्सकको गम्भीर लापरबाहीले गौशाला नगरपालिका–११ भरतपुर बस्ने २३ वर्षीया गंगादेवी महतोको मृत्यु भएको थियो ।
शल्यक्रिया गरी छोरी जन्माएकी गंगादेवीलाई ‘ओ पोजेटिभ’ रगत चढाउनुपर्नेमा ‘बी पोजेटिभ’ चढाउँदा तत्कालै मृत्यु भएको थियो । सो घटनापश्चात अस्पतालले गुण्डा भिडाएर मृतक परिवारलाई धाकधम्की देखाउँदै रातीको समयमा पाँच लाख रुपैयाँमा घटना मिलाएको थियो । प्रशासनले दुई जना चिकित्सकलाई तत्कालै पक्राउ गरे पनि एकदिन पश्चात छोडेको थियो ।
हालसम्म उक्त घटनामा हस्पिटललाई प्रशासनले कुनै किसिमको कारबाही गरको छैन । त्यसअघि ५ साउन २०७५ मा पेट दुख्दा रामजानकी हस्पिटमै भर्ना भएका धनुषाको बटेश्वर गाउँपालिका–३ बस्ने ५२ वर्षका बिन्देश्वर ठाकुरको हस्पिटलकै लापरवाहीले मृत्यु भएको थियो । पैसा लुट्ने चक्करमा हस्पिटलमा भर्ना भएका ठाकुरको जथाभावी औषधि प्रयोगले मृत्यु भएपछि प्रशासनकै संरक्षणमा पाँच लाख रुपैयाँ मृतक परिवारलाई दिएर उम्केको थियो ।
रामजानकी हस्पिटलमा यस्ता कैयौँ घटना हुँदा पनि उसलाई कुनै फरक परेको छैन । प्रशासनकै संरक्षण स्वास्थ्योपचारको नाममा चर्को शुल्क लिए पनि बिरामीको जीवनसँग खेलबाड गर्नु र ज्यान लिनु रामजानकी हस्पिटलको धन्दा बनिसकेको छ । राजनीतिक शक्तिको आडमा हस्पिटलमा गुन्डा राखेर कुरुवालाई थर्काउने, त्यहाँ पुगिसकेका बिरामीलाई गम्भीर अवस्थामा पनि बाहिर लग्न नदिने, धम्काएर चर्को शुल्क असुल गर्ने कार्य गर्दै आउँदासमेत प्रशासनको तर्फबाट कुनै प्रकारको कारबाही भएको छैन ।
यसैगरी कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउँदा धनुषामा एउटै विद्यालयका १० जना विद्यार्थी सिकिस्त भएका छन् । धनुषाको धनुषाधाम नगरपालिका–७ स्थित मेरी गोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका १० जना विद्यार्थी सिकिस्त बिरामी परेका हुन् । उनीहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ । जसमध्ये चार जना बढी सिकिस्त छन् ।
अत्यधिक टाउको दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या भएर एकाएक बेहोस् हुनेजस्ता लक्षण उनीहरूमा देखिएको विद्यालयका शिक्षक इन्ददीप साहले बताए । सिकिस्त विद्यार्थीहरू ६ कक्षाभन्दा माथिका छन् । ‘आइतबार दिउँसो विद्यालयका झण्डै तीन सय विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाइएको थियो । सोमबार बिहान १० बजे विद्यालय आउँदा एकाएक १४ जना विद्यार्थी बेहोस भए’ उनले भने, ‘जसमध्ये १० जना बढी सिकिस्त छन् । चार जनाको स्थानीयस्तरमै उपचारपश्चात घर फर्किसकेका छन् ।’ धनुषाधाम नगरपालिका–८ का हेल्थपोस्टका स्वास्थ्यकर्मी विद्यालय पुगेर विद्यार्थीहरूलाई खोप लगाएका थिए ।