एजेन्सी । वायु प्रदूषणले किशोर किशोरीहरूमा डिप्रेसनको लक्षण बढाउने देखिएको छ ।
डेभलपमेन्टल साइकोलोजी जर्नलमा प्रकाशित अध्ययनले ओजोन ग्यासको वायु प्रदूषणले निम्त्याएको जोखिमलाई किशोर किशोरीहरूमा डिप्रेसनको लक्षणसँग जोडिएको छ ।किशोरावस्थामा डिप्रेसनको विकाससँग ओजोन स्तरलाई जोड्ने यो पहिलो अध्ययन हो । अध्ययनमा ओजोनको स्तर र समयसँगै किशोरहरूमा डिप्रेसनको लक्षणहरूको विकासबीचको सम्बन्ध विश्लेषण गरिएको छ ।
किशोरहरूमा निरन्तर उदास रहने, निराश हुने, ध्यान केन्द्रित गर्न गाह्रो हुने, निद्रामा समस्या हुने र आत्महत्या गर्ने विचार आउने लक्षण समावेश गरिएको छ ।
डेनभर विश्वविद्यालयका मनोविज्ञानका सहायक प्राध्यापक तथा प्रमुख अनुसन्धानकर्ता एरिका मान्जाकमका अनुसार वायु प्रदूषणले शारीरिक स्वास्थ्य मात्र नभई मानसिक स्वास्थ्यमा पार्ने प्रभावको महत्त्व बुझ्न जरुरी भएको अध्ययनले देखाएको छ।
नौ देखि १३ वर्षका दुई सय १३ किशोर किशोरीहरूमा चार वर्षको अन्तरालमा उनीहरूको मानसिक स्वास्थ्य र हावाको गुण्स्तरको अध्ययन गरिएको थियो।
तुलनात्मक रूपमा उच्च ओजोन स्तर भएका क्षेत्रमा बसोबास गर्ने किशोर किशोरीहरूले समयसँगै डिप्रेसनका लक्षणहरूमा उल्लेखनीय वृद्धि देखाएका थिए।
ओजोन र वायु प्रदूषणका अन्य कारकले शरीरमा इन्फ्लामेसन निम्त्याउन सक्छ, जुन डिप्रेसनको सुरुवात र विकाससँग जोडिएको छ । ओजोन ग्यास मोटर, पावर प्लान्ट र अन्य स्रोतहरूबाट हुने विभिन्न प्रदूषकहरूले सूर्यको किरणमा प्रतिक्रिया गर्दा उत्पादन हुन्छ।
उच्च ओजोन स्तर दम, श्वासप्रश्वासमा समस्या निम्त्याउने भाइरस र श्वासप्रश्वासको समस्याबाट अकाल मृत्युसहित विभिन्न शारीरिक रोगहरूसँग जोडिएको छ।