काठमाडौं । क्षयरोग प्राचीनकालदेखि नै लाग्दै आएको रोग हो । मुख्य गरी फोक्सोमा लाग्ने रोग भए तापनि शरीरका अन्य अंगमा पनि क्षयरोग लागेको पाइन्छ । फोक्सोबाहेकका अन्य अंगमध्ये फोक्सोको बाहिरी झिल्ली, लासिका ग्रन्थि, पाचन प्रणाली, मूत्र प्रणाली तथा प्रजनन प्रणाली, हाड जोर्नी, मस्तिष्कको बाहिरी झिल्ली, छाला, आँखा इत्यादि हुन् ।
क्षयरोग विश्वमा प्रमुख जनस्वास्थ्य समस्याको रुपमा रहिआएको छ।क्षयरोग माइको ब्याक्टेरियम ट्युबरकुलोसिस नामक कीटाणुबाट लाग्ने एक किसिमको सरूवा रोग हो । यो एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ, खाना,यौनजन्य क्रियाकलापबाट भने सर्दैन।
र, अर्को कुरा क्षयरोगका कीटाणुबाट प्रभावित सबै व्यक्तिलाई पनि क्षयरोग लाग्दैन ।यदि क्षयरोगका कीटाणुले आक्रमण गरेका व्यक्तिमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन, रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्छ ।
क्षयरोग लागेको सुरुवाती अवस्थामा थोरै काम गर्दा पनि थकान महसुस हुने गर्छ, कमजोरी महसुस हुन थाल्छ । मानिसहरूले यस्ता लक्षणलाई गम्भीरतापूर्वक लिँदैनन्, जसकारण विस्तारै क्षयरोगको व्याक्टेरियाले संक्रमण भई गम्भीर समस्या निम्त्याउँछ ।
प्रमुख कारण
– क्षयरोग माइकोबेक्टेरियम ट्युबरक्लोसिस नामक किटानुले गराउने संक्रमण हो।
– प्राथमिक रुपले यो रोग फोक्सोमा लाग्ने गर्छ र त्यहाँबाट रगतको बाटो हुँदै मुत्र प्रणालीमा सर्ने गर्छ,
संक्रमित बिरामीसँग सम्बन्ध,
– रोगसँग लड्न सक्ने क्षमता कमजोर हुनु (जस्तै: एचआइभी एड्स, लामो समयदेखि रोगी हुनु, विशेष किसिमको औषधि सेवन, क्यान्सर),
– जनघनत्व बढी भएको ठाउँमा बसाइ गर्नु,
– तल्लो स्तरीय जीवनशैली,
सरसफाईको कमी
लक्षणहरु
-रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । यो क्षयरोगको संकेत पनि हुनसक्छ ।
-क्षयरोग लागेमा विरामीलाई राती धेरै पसिना आउँछ । मुख सुक्ने गर्छ । खान मन लाग्दैन र तौल अचानक कम हुन थाल्छ ।
-क्षयरोगको संक्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ । सास लिनसमेत समस्या हुने गर्छ । यस्ता लक्षण देखिए तुरुन्तै चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।
-क्षयरोगको संक्रमण जोसुकैलाई हुनसक्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ ।
रोकथाम कसरी गर्ने ?
यो रोग निदान गर्न अलि कठिन हुने गर्छ । केही बिरामीमा त संक्रमणको प्रयोगशाला प्रमाण नहुँदा लक्षणकै आधारमा पनि क्षयरोगविरुद्धको उपचार चलाउनुपर्ने हुन्छ ।
निदानका लागि गरिने सामान्य जाँचहरु यसप्रकार छन्– रगतको सामान्य जाँच, खकारको जाँच, पिसाबको जाँच, छातीको एक्सरे, पीसीआर इत्यादि । पीसीआर विधिबाट क्षयरोग बेलैमा निदान गरी सरल तरिकाले उपचार गर्न आजकल हदैसम्म सजिलो भएको छ । यो विधिले ९९ प्रतिशत केसमा क्षयरोग भएको वा नभएको पुष्टि गर्ने गरेको छ।
पिसाब गर्ने मार्गबाट दूरबिन भएको यन्त्र सिस्टोस्कोप पठाई शंका लागेको ठाउँबाट मासु जाँचको लागि पठाइन्छ र मूत्र प्रणालीको क्षयरोग पता लगाउन कोसिस गरिन्छ । औषधिहरुले काम नगरेको खण्डमा जेनोटैपिंग र फेनोटैपिंग विधिबाट उचित जाँचहरु पनि गरिछ । निदान गर्दा यो रोग प्रायः मूत्र प्रणालीको अन्य संक्रमण, क्यान्सर तथा पत्थरीसँग झुक्किने देखिन्छ ।
जटिल स्थिति भएको, नभएको पत्ता लगाउन विशेष किसिमको एक्सरे तथा सिटी स्क्यान पनि गर्नुपर्ने हुनसक्छ। यी विधिहरु अलि महँगो हुनाले रोग निदानमा अनेक समस्या देखिन्छन् । तसर्थ आफूलाई उपचार गर्ने चिकित्सकको सल्लाहअनुसार जाँच र उपचारको प्रक्रिया अगाडि बढाई चिकित्सकलाई उपचार गर्ने वातावरण सहज बनाइदिनुपर्छ।
क्षयरोग नियमितरूपमा औषधिको सेवनबाट पूर्ण निको हुन्छ । नेपाल सरकारले क्षयरोगविरुद्धमा अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गराउँदै आएको छ । उपचार अवधि भने संक्रमित अंग, रोगको प्रकृति हेरी फरक हुन्छ।