काठमाडौं । विश्व क्षयरोग दिवस हरेक वर्ष मार्च २४ मा मनाइन्छ।
सन् १८८२ मा आजको दिन डाक्टर रोबर्ट कोचले क्षयरोग निम्त्याउने ब्याक्टेरिया (माइकोब्याक्टेरियम ट्युबरक्लोसिस) पत्ता लगाएका थिए । प्राणघातक रोगबाट जनतालाई सचेत गराउने उद्देश्यका साथ हरेक वर्ष विश्व क्षयरोग दिवस मनाउने गरिन्छ । क्षयरोग लागेका बिरामीम लगातार खोकी, खकारमा रगत, श्वास फेर्न गाह्रो, छाती भारी भइरहने, तौल घट्ने, पसिना आउने, थकानलगायतका लक्षण देखिन सक्छन्।
क्षयरोगले फोक्सो मात्र नभई शरीरका धेरै अङ्गहरूलाई असर गर्छ । यसमा फोक्सोका साथै, अन्य ग्रन्थी, पाठेघर, पेट, कलेजो, मिर्गौला, मस्तिष्क, हड्डी, मेरुदण्डका साथै प्राइभेट पार्टस् पनि पर्छन् । पुरुष र महिलाको गोप्य अङ्गमा हुने क्षयरोगलाई जेनाइटल ट्युबरक्लोसिस (जेनाइटल टिबी) भनिन्छ । यो अवस्थाले मानिसमा बाँझोपन निम्त्याउन सक्छ।
जेनाइटल टिबी एक असामान्य प्रकारको क्षयरोग हो । यो यौनसँग सम्बन्धित रोग होइन । यो सेकेन्डरी सङ्क्रमण युरिनरी र जेनाइटल अङ्गहरूमा हुन्छ । क्षयरोगका बिरामीमा यो रगत वा आन्द्राको माध्यमबाट गुप्ताङ्गमा पुग्छ। फोक्सो र पेटमा क्षयरोग भएका व्यक्तिहरूलाई एकै समयमा वा भविष्यमा जेनाइटल टिबी फैलिने जोखिम बढी हुन्छ।
पुरुषमा हुने जेनाइटल टिबी मुख्य लक्षण एन्टिबायोटिक खाँदा पनि पिसाबमा भएको सङ्क्रमण निको नहुनु हो। महिलाहरूमा गर्भवती हुन नसक्ने यो रोगको लक्षण हो। प्राथमिक क्षयरोग परीक्षणमा ढिलाइ हुँदा महिला र पुरुषहरूलाई जेनाइटल टिबी हुने जोखिम हुन्छ। यससँगै क्षयरोगको उपचारमा ढिलाइ, अनियन्त्रित मधुमेह, एचआइभी सङ्क्रमण र स्टेरोइडको अत्यधिक प्रयोगले पनि जेनाइटल टिबीको सम्भावना बढाउँछ।
जेनाइटल टिबीको शारीरिक प्रभाव बाँझोपन हो। तर, समयमा रोग पहिचान गरी, सही उपचारको सहयोगले धेरै अवस्थामा प्रजनन स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ।