नेपालमा हाल विभिन्न प्रकारका सरुवा रोगको प्रकोप कम हुँदै गएको देखिए पनि अर्बुदरोग, मुटुरोग, मधुमेह र मानसिक रोगजस्ता नसर्ने रोगको प्रकोप बढ्दै गएको चिकित्सकले बताएका छन् ।
अस्वस्थ्यकर खानपिन, रहनसहन र वातावरणीय प्रभावका कारण यस्ता रोग बढ्दै गएका छन् । । नेपालमा हुने मृत्युको ठूलो कारण यिनै नसर्ने रोग भएको बताइएको छ । पोषण र शारीरिक क्रियाकलाप कमीका कारण यस्ता रोगको खतरा बढ्दै गएको चिकित्सकले बताएका छन् ।
सुर्तीजन्य पदार्थ सेवन, अनियन्त्रित मद्यपान, धेरै नुन र बोसोयुक्त खाना, बासी, ढुसी परेको र अखाद्य रंग मिसाइएको खाना, कीटनाशक तथा पोलेर डढेको माछामासु आदिको सेवनबाट रोगका बिरामी बढ्दै गएको छन् । हरियो ताजा सागपात र फलफूल नियमित प्रयोगले अन्य रोगका साथै क्यान्सरबाट सुरक्षित राख्ने भए पनि यसको प्रयोग कम मानिसले मात्र गर्ने भएकाले नसर्ने रोगको प्रकोपलाई बढाएको छ ।
धेरै रोग असन्तुलित खाना, नियमित परिश्रम कमी र प्रदुषणयुक्त वातावरणको असर तथा मानिसको जीवनशैलीका कारण हुने गरेका छन् । नेपालमा करिब ५० हजार बढी मानिस अर्बुद रोगी रहेको बताइएको छ । अस्पतालको तथ्यांक हेर्ने हो भने फोक्सो, पाठेघरको मुख, स्तन, लिम्फ ग्रन्थ्री, पेट, रगत, घाँटी, मस्तिष्क, दिसा गर्ने नली र छालाको अर्बुदरोगी प्रमुखरुपमा आउने गरेका छन् । जनचेतनाको कमीका कारण धेरैजसो बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल आउने कारण उनीहरुलाई बचाउन नसकिने चिकित्सकको भनाइ छ ।
मुटु, चोटपटक, मानसिक स्वास्थ्य, क्यान्सर तथा श्वासप्रश्वास जस्ता नसर्ने रोगबाट विश्वमा मानिसहरुको ज्यान लिइरहेको छ । मृत्युमध्ये २२ प्रतिशत मृत्यु मुटुरोगका कारण हुने गर्दछ । चोटपटकबाट १९ प्रतिशत, मानसिक स्वास्थ्यबाट १८ प्रतिशत, अर्बुदबाट १७ प्रतिशत र श्वासप्रश्वासबाट ६ प्रतिशत छ ।