सर्लाही। सर्लाहीको चक्रघटा गाउँपालिकामा १५ शय्याको आधारभूत अस्पताल निर्माण हुने भएको छ। उक्त गाउँपालिका–५ स्थित पडरियामा गाउँपालिका अध्यक्ष विक्रम यादवले निर्माणाधिन भवन शिलान्यास गरेका छन्।
सङ्घीय सरकारको ‘एक स्थानीय निकाय एक आधारभूत अस्पतालको अवधारणा’अन्तर्गत अर्थमन्त्रालयबाट प्राप्त रु १९ करोड आठ लाखको लागतमा अस्पताल निर्माण हुन लागेको अध्यक्ष यादवले बताए। स्थानीय सरकार निर्माण हुँदा पालिकाको स्वास्थ अवस्था एकदमै नाजुक हुनाका साथै सञ्चालनमा रहेका सरकारी स्वास्थ्य संस्थामा भौतिक पूर्वाधार, जनशक्ति, स्वास्थ्य उपकरण, औषधिलगायत सामग्रीको चरम अभाव र पुरानो भवन मर्मत गर्नुपर्ने अवस्थामा रहेको उनको भनाइ थियो।
आफूहरुले चुनाव जितेलगत्तै आफूले पालिकामा पाँच वटा ‘स’ (सडक, शिक्षा, स्वास्थ, सञ्चार र सिँचाइ) को सुधार गर्ने प्रतिबद्धता जनाएकामा चक्रघट्टा बजारबाट जोडिने हरेक वडाका सडकलाई कालोपत्रे गरिएको, एक वडा एक स्वास्थ्यचौकीको अवधारणाअन्तर्गत बाँकी वडामा आधारभूत स्वास्थ्यचौकी निर्माण र कर्मचारी नियुक्ति गरी आमनागरिकलाईस्वास्थ्य क्षेत्रमा पहुँचको सुनिश्चिता गरेको गाउँपालिका अध्यक्ष यादवले बताए।
उक्त गाउँपालिकामा पाँच आधारभूत स्वास्थ्यचौकी र चार स्वास्थ्यचौकी निर्माण गरी सञ्चालनमा ल्याइएको जनाइएको छ। नौवटा वडामध्ये वडा न ४ सुन्दरपुर, वडा न ८ औहरी र वडा न ९ खोरियामा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ भने वडा न २ भेल्हीमा भवन निर्माण गरी उद्घाटनको तयारी रहेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साहले बताए।
उक्त अस्पताल भवन निर्माणका लागि स्थानीय जगदिशप्रसाद यादवले पाँच कट्ठा र प्रदीपराय यादवले पाँच कट्ठा जग्गा दान गरेका छन्। प्रेरा एक्सिस एसियन जेभीले भवन निर्माणका लागि ठेक्का पाएको गाउँपालिकाले जनाएको छ।
रासस