काठमाडौं । अन्धोपनका प्रमुख कारणहरुको अध्ययन गर्दा मोतीविन्दुको योगदान ६५ प्रतिशत रहेको नेपाल नेत्र ज्योती संघले जनाएको छ ।
आँखाको पर्दाजन्य रोगहरुको १४ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपन ६ प्रतिशत, जलविन्दु ५ प्रतिशत र अन्य कारणबाट १० प्रतिशत मानिसहरु दृष्टिविहिन बन्न पुग्ने गरेको तथ्य रहेको छ ।
नेपालमा शिक्षा, चेतनाको कमी तथा सेवाको पहुँचको कमी आदि कारणबाट दृष्टिविहिनताको स्थिति अझै प्रमुख स्वास्थ्य समस्याका रुपमा विद्यमान छ । पछिल्लो तथ्याङ्कअनुसार नेपालमा ६ मिटरको दूरीलाई आधार मान्दा अनुमानित २ लाख २० हजार मानिसहरु दृष्टिविहिन रहेका छन् भने ३ मिटरलाई आधार मान्दा अनुमानित ९३ हजार ४ सय मानिसहरु दृष्टिविहिन छन तीमध्ये ५० वर्षभन्दा माथिका मानिसहरुको संख्या अनुमानित २ दशमलव ५ प्रतिशत रहेको छ ।
नेपालमा कुल दृष्टिविहिनहरुमध्ये ६६ प्रतिशतको दृष्टिविहिनतालाई उपचारका माध्यमबाट नै निवारण गर्न सकिन्छ भने १६ प्रतिशतको दृष्टिविहिनता रोकथाम गर्न सकिने खालको रहेको छ । हालै नेपाल नेत्रज्योति संघले सबै प्रदेशमा अन्धोपन सर्भेक्षण गरेको थियो । सो सर्भेले लुम्विनी प्रदेश बाहेक सबै प्रदेशमा अन्धोपनको समस्या घटेको पाईएको थियो।
नेपाल सरकारको स्वास्थ्य नीति अनुसार, नेपाल सरकार सँग सहकार्य गरी देशका सबै बालबालिकाहरुलाई विद्यालय भर्ना हुनुपूर्व अनिवार्य आँखा परिक्षण गर्ने योजना रहेको छ । एउटा पनि आँखा अस्पताल नरहेको र दुईचार जना नेत्रचिकित्सकहरु केन्द्रमा मात्र सीमित रहेको अवस्थाबाट सुरु भएको सेवा आज देशभरि आँखा स्वास्थ्य संस्थाहरुको सञ्जाल स्थापना हुन पुग्नु र नेपालीका साथसाथै अन्य छिमेकी मुलुकहरुबाट समेत उपचारका लागि नेपाल आउने अवस्थाको सिर्जना हुनुमा संघको चार दशकको अथकित परिश्रम र सेवाभावबाट ओतप्रोत भएका समाजसेवीहरु, नेपाल सरकार, दातृनिकायहरु तथा कर्मचारीहरुको ठूलो योगदान रहेको छ ।
अहिले आफ्ना २२ आँखा अस्पतालहरु, १ सय २८ उपचार केन्द्रहरु तथा ४२ जिल्ला शाखाहरुका साथै हजारौँ समाजसेवीहरु तथा कर्मचारीहरुको ठूलो परिवार सहित विश्वदृष्टि दिवस मनाउन पाउँदा संघ गौरवान्वित भएको जनाएको छ ।