एजेन्सी । कफी पिउनाले मुटुको समस्या निम्तिने वा बिग्रनुको साटो यसले हृदयलाई बचाउन सक्ने अध्ययनले देखाएको छ । तीनवटा अध्ययनअनुसार दैनिक दुईदेखि तीन कप कफी पिउनाले हृदयघात, हृदयको समस्या, मुटुको चालमा समस्या वा कुनै पनि कारणले चाँडो मृत्यु हुने जोखिमलाई १० देखि १५ प्रतिशत कम हुन्छ।
कफीले मुटुको धड्कन छिटो बनाउन सक्ने हुनाले कतिपय मानिसहरू कफी पिउनाले मुटुसम्बन्धी समस्याहरू निम्तिने वा पहिलादेखि भएका समस्या बिग्रन सक्ने भनेर चिन्तित हुन्छन्।
अध्ययनका वरिष्ठ लेखक डा. पिटर एम. किस्टलरका अनुसार कफी पिउनाले कुनै हानि गर्दैन वा यसको सेवन मुटुको स्वास्थ्यमा हुने फाइदाहरूसँग सम्बन्धित भएको पत्ता लागेको छ।
तीनवटै अध्ययनका लागि युके बायोबैङ्कको तथ्याङ्कको प्रयोग गरेका थिए। सो बैङ्कमा कम्तिमा १० वर्षको लागि पाँच लाखभन्दा बढी मानिसहरूको स्वास्थ्य परिणामहरू रहेको छ।
अध्ययनकर्ताहरू कफी पिउनु र मुटुको चालमा समस्याबीचको सम्बन्धको जाँच गर्न चाहन्थे । यसका साथै हृदयरोग, कोरोनरी हृदयरोग, हृदयघात, स्ट्रोक, हृदयरोग भएका र नभएका व्यक्तिहरूको मृत्युको विषयमा पनि अध्ययन गरिएको थियो।
तीन लाख ८२ हजार पावच सय मानिसमा गरिएको अध्ययनमा हृदय रोग नभएका र औसतमा ५७ वर्षको उमेर रहेका मानिसलाई सहभागी गरिएको थियो।
प्रतिदिन दुईदेखि तीन कप कफी पिउने मानिसलाई पछि गएर मुटुसम्बन्धी समस्याहरू हुने सम्भावना कम हुने अध्ययनले देखाएको छ। प्रति दिन एक कप कफी पिउने मानिसहरूलाई हृदयघात वा हृदयरोगबाट मृत्यु हुने जोखिम कम हुन्छ।
दिनमा एकदेखि पाँच कप ग्राउन्ड वा इन्स्ट्यान्ट कफी पिउनाले मुटुको चालसम्बन्धी समस्या, हृदयरोग, हृदयघात वा स्ट्रोकको जोखिम कम हुन्छ।
हरेक दिन दुईदेखि तीन कप कुनै पनि प्रकारको कफी पिउनाले चाँडै मर्ने वा हृदय रोगको जोखिम कम हुनेसँग सम्बन्धित देखिएको छ। पहिले नै मुटको चालसम्बन्धी समस्या भएका वा हृदय रोग भएका मानिसमा गरिएको अध्ययनमा यस्ता मानिसले कफीको सेवन गर्दा कुनै पनि हृदय समस्या बढाएको पाइएन ।