एजेन्सी । शरीरलाई राम्रोसँग काम गर्नका लागि विभिन्न प्रकारको भिटामिन र पोषक तत्वको आवश्यकता पर्छ ।
भिटामिन विभिन्न प्रकारका हुन्छन् जसमध्ये एक हो भिटामिन डी । सूर्यको किरणबाट शरीरमा भिटामिन डी बन्छ । तर, व्यस्त जीवनशैलीका कारण धेरैजसो मानिसमा भिटामिन डीको कमी देखिन्छ।
भिटामिन डी मांसपेशीलाई बलियो बनाउन, प्रतिरोधी क्षमतालाई बलियो बनाएर सङ्क्रमणसँग लड्न, डिप्रेसन र नराम्रो मुडलाई सुघार्न, इनर्जी लेभललाई मेन्टेन गर्नुका साथै विभिन्न किसिमका क्यान्सरबाट जोगाउन आवश्यक हुन्छ।
शरीरमा भिटामिन डीको कमीले विभिन्न प्रकारका समस्या देखिन्छन् । भिटामिन डीले हड्डी र दाँतलाई बलियो बनाउँछ । शिशुमा भिटामिन डीको अत्यधिक कमी हुँदा ऐंठन हुने र सास फर्ने समस्या हुनसक्छ।
बच्चामा भिटामिन डीको कमीले रिकेट्स नामक समस्या निम्त्याउँछ । यो रोग लाग्दा हड्डी असाध्यै नरम हुने र हड्डी सजिलै भाँच्चिन थाल्छ । यसैकारण बच्चाको खुट्टा टेढो हुने, दाँत पनि निकै सजिलै भाँच्चिने गर्छ।
बयस्कमा भिटामिन डीको कमीलाई अस्टियोपोरोसिस भनिन्छ । यसका हड्डी पातलो हुने र सजिलै भाँचिने जोखिम बढ्न थाल्छ। भिटामिन डीको कमीका कारण केही मानिसलाई थकाइ लाग्ने, दुख्नेलगायतका समस्या देखिन्छ।
भिटामिन डीको अत्यधिक कमी हुँदा मानिसलाई सिँढी चढ्न समस्या हुने, मांसपेशी दुख्ने हड्डीमा असाध्यै पीडा हुने, विशेषगरी ढाडको तल्लो हिस्सा, कुहिना, हिप आदि हुनसक्छ।
अफिस जाने व्यक्तिमा सबैभन्दा धेरै भिटामिन डीको कमी हुन्छ। अफिस जाने व्यक्तिहरूले घाममा बस्ने समय नपाउने कारण उनीहरूमा भिटामिन डीको कमी हुने हुन्छ।
५० वर्षभन्दा माथि उमेर बढ्दै जाँदा शरीरमा विभिन्न प्रकारको भिटामिनको कमी हुन थाल्छ जसमध्ये भिटामिन डी पनि एक हो। यो उमेरमा शरीरले सूर्यको किरणबाट मात्रै शरीरलाई आवश्यक भिटामिन डी बनाउँन सक्दैन। जसकारण अन्य विकल्पबाट भिटामिन डीको कमी पूरा गर्नु पर्ने हुन्छ।
बडी मास इन्डेक्स ३० भन्दा बढी भएका वा शरीरमा बोसोको मात्रा बढी हुने मानिसमा भिटामिन डीको कमी देखिन्छ । उमेरअनुसार भिटामिन डीको आवश्यकता कति हुन्छ भनेर छुट्याइन्छ।